बझाङ । सुदूरपश्चिम प्रदेशको चर्चित धार्मिक, आध्यात्मिक तथा पर्यटकीय खप्तड क्षेत्रमा तीनदिने आध्यात्मिक सम्मेलनको तयारी पूरा भएको छ । आज सम्मेलनको उद्घाटन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ खप्तड आउने कार्यक्रम रहेको छ ।
कार्यक्रममा विशिष्ट अतिथिका रूपमा पूर्वप्रधानमन्त्री, लोकप्रिय योगगुरु बाबा रामदेव र पतञ्जली योगपीठका महामन्त्री आचार्य बालकृष्णलगायतको उपस्थिति हुने बताइएको छ ।
सुदुरपश्चिम प्रदेश सरकारले खप्तड क्षेत्रको पर्यटन प्रवद्र्धन र प्रचार प्रसारको लागि पहिलो पटक खप्तड अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलनको भव्य रुपमा सञ्चालन गर्न लागेको हो । सम्मेलन आजदेखि २५ गतेसम्म सञ्चालन हुनेछ । सम्मेलनमा आउने भक्तजनहरूका लागि सुदुरपश्चिम प्रदेश सरकार खतड क्षेत्र पर्यटन बिकास तथा व्यवस्थापन समिति र खप्तड पर्यटन बोर्डले खाना र बस्नको लागि ब्यवस्थापन गरेको छ ।
सम्मेलनको उद्घाटनमा स्थानीय कलाकारसहित सुदुरपश्चिम लोक संस्कृतिलाइ झल्काउने प्रस्तुति पनि राखिने भएको छ । यो सम्मेलनले खप्तड पर्यटन प्रवद्र्धन लागि ठूलो मद्दत पुग्ने खप्तड पर्यटन बोर्डका कार्यकारी निर्देशक भिम खड्काले जानकारी दिनुभयो ।