काठमाडौँ । काठमाडौँ महानगरका मेयर बालेन शाहले सिंहदरबारको फोहोर उठाउने निर्णय लहडमा अनायासै नगरेको स्पष्ट पारेका छन् । बारम्बार गरिएको प्रयासमाथिको बेवास्ता, गैरजिम्मेवारी र लापरबाहीले गर्दा बाध्यात्मक कदम उठाउनु परेको मेयर शाहको प्रस्टोक्ति छ । असमन्वयकारी भूमिकाले थुप्रिएको समस्याको चाङ सिंहदरबारले फोहोरमा देखोस् भनेर फोहोर नउठाइएको बताउँदै उनले यो दबाब आवश्यक रहेको बताएका हुन् ।
सिंहदरबारमा बसेको सरकारसँग महानगर पुग्न धेरै कसरत गर्नु परेको शाहको भनाई छ । शाहले भनेका छन्, ‘सिंहदरबार काठमाडौँ महानगरमै पर्छ । अझ महानगरको कार्यालयबाट ५०० मिटरको दुरीमा सिंहदरबार सुरु हुन्छ । यति हुँदा पनि सिंहदरबारमा बसेको सरकारसँग महानगर पुग्न धेरै कसरत गर्नु पर्छ । संघीय सरकारका रुपमा रहेको सिंहदरबारले जनजीविकाका कुरामा स्थानीय सरकारसँग समन्वय गर्न चाहेको पटक्कै महसुस हुन्न । पटक पटकको कोसिस पछि ९ महिनामा पटक पटक पहल गर्दा पनि समन्वय गर्न र समन्वय भएका कुराहरू कार्यान्वयन गर्न मुस्किल परेको अवस्था छ ।’
५०० मिटरको दुरीमा रहेको स्थानीय सरकारले जनजीविकाका सवालमा उठाएका यस्ता मुद्दा त अगाडि बढ्दैनन्, सुनेको नसुनै हुन्छ भने दुरदराजका स्थानीय तहहरूमा भएको नीतिगत अप्ठ्यारा, कार्यक्षेत्रको विवाद लगायतका कुराहरूको सम्बोधनको अवस्था कस्तो होला रु भन्दै प्रश्न समेत गरेका छन् । उनले भनेका छन्, ‘जुन सरकारले अर्को सरकार र जनप्रतिनिधिको कुरा सुन्दैन, बुझ्दैन र प्राथमिकतामा पार्दैन भने त्यसलाई एकअर्काको अस्तित्व स्विकारेको भनेर कसरी मान्ने रु संघीय सरकार संघीयताको सुदृढीकरणमा छ भन्ने कसरी मान्ने ? ’
शाहले स्थानीय समस्याहरू स्थानीय तहमा नै समाधान गर्न माग गरेका छन् । संघीय सरकारले त्यसलाई प्राथमिकतामा राखेर गाँठो फुकाइदिन आग्रह गरेका छन् । ‘देश विकेन्द्रीकरणको उच्चतम् लोकतान्त्रिक व्यवस्था मानिने संघीयतामा छ तर न्याय माग्न, पासपोर्ट बनाउन, सरकारी कामकाजका लागि, उपचार र शिक्षाका लागि पनि काठमाडौँ आइरहनु पर्ने अवस्था छ, त्यो नहोस्,‘ उनले भने ।