काठमाडौं । भैरहवाको गौतमवुद्ध विमानस्थलपछि पोखराको क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल पनि अन्तर्राष्ट्रिय उडान सुरु गर्ने तयारीमा छ । भौतिक संरचना निर्माण र केही उपकरण जडानको काम बाँकी नै रहे पनि नेपाल नागरिक उड्डयन प्राधिकरणले १ जनवरी २०२३ लाई विमानस्थलको व्यवसायिक उद्घाटन गर्ने गरी मिति तोकेको छ । अर्थात् अबको करिब पाँच महिनापछि पोखरामा विदेशबाट समेत सिधै उडान–अवतरण हुनेछ ।
नियमित उडान सुरु गर्नुअघिका सबै प्राविधिक पक्ष यो पाँच महिनाको अवधिमा सक्ने गरी सरकारले तयारी गरिरहेको छ । बुधबार विमानस्थलको अनुगमनमा पुगेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले १ जनवरीअघि सबै तयारी सक्ने बताए । नेपाल नागरिक उड्डयन प्राधिकरणको एक समितिले विमानस्थलको संगठन संरचनाको काम गरिरहेको प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले बताए ।
अहिले सञ्चालनमा रहेको पोखरा विमानस्थलका कर्मचारीलाई समेत नयाँ विमानस्थलमा सारिने छ । ‘कति कर्मचारी नयाँ विमानस्थलमा सार्ने र कसरी उडानलाई नियमित गर्ने भन्ने विषयमा अझै मिहिन छलफलमै छौं’ पोखरा विमानस्थलका प्रमुख तथा नागरिक उड्डयन प्राधिकरण पोखराका प्रमुख बिक्रम गौतमले भने ।
पोखरा विमानस्थल निर्माण सुरु हुँदै गर्दा स्वदेशी वायु सेवा कम्पनी वुद्ध एयरले २५ माघ २०७८ मा विमानस्थल सञ्चालनमा आएपछि ५ वटा जहाज पोखरामा राखेर राष्ट्रिय–अन्तर्राष्ट्रिय उडान गर्ने घोषणा गरेको थियो । त्यसबाहेक अरु विमान कम्पनीले अहिलेसम्म यस्ता घोषणा गरेका छैनन् । तर विमानस्थल सञ्चालनमा आउने समयसम्म वायुसेवा कम्पनीहरु पनि उडान भर्न तयार हुने नागरिक उड्डयन प्राधिकरणको विश्वास छ ।
चिनियाँ लगानीमा चिनियाँ निर्माण कम्पनीले नै बनाएको यो विमानस्थलमा चिनियाँ वायु सेवा कम्पनीले नै उडान सुरु गर्ने अपेक्षा नागरिक उड्डयन प्राधिकरणको छ । ‘पोखरा चिनियाँ पर्यटकले रुचाउने प्रकृतिको गन्तव्य हो’, प्राधिकरणका प्रवक्ता निरौला भन्छन्, ‘त्यसकारण पोखरा विमानस्थललाई बढी ट्राफिक चिनियाँ वायुसेवा कम्पनीबाटै आउने अपेक्षा गरिएको छ ।’
गत वर्ष भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण हुँदै गर्दा त्यहाँको व्यवसायिक उडान गर्न कुनै कम्पनीले इच्छा देखाएको थिएन । तर विमानस्थल उद्घाटन भएदेखि नै जजिरा एयरवेजले नियमित अन्तर्राष्ट्रिय उडान गरिरहेको छ । त्यसैले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलले अहिले सजिलै ट्राफिक पाउने अपेक्षा प्राधिकरणले गरेको हो ।
विमानस्थल निर्माणका लागि नागरिक उड्डयन प्राधिकरण र चाइना सीएएमसी इन्जिनियरिङबीच ८ जेठ २०७१ मा ठेक्का सम्झौता भएको थियो । १ वैशाख २०७३ सालमा शिलान्यास भएको विमानस्थल निर्माणका लागि एक्जिम बैंकले १७ जेठ २०७४ देखि ऋण प्रवाह थालेपछि २७ असार २०७४ देखि काम सुरु भको थियो । चिनियाँ कम्पनी सीएएमसी इन्जिनियरिुङले निर्माण सुरु गरेको करिब ५ वर्षमा सम्पन्न गरेको हो ।