दाङ । राप्ती गाउँपालिका-९ चिसापानीकी १९ वर्षीया देवकला बुढालाई शुक्रबार विहान सुत्केरी बेथा लाग्यो । परिवार र आफन्तले गाउँबाट करिव २० किलोमिटरको दुरीमा रहेको प्रस्तावित भालुवाङ अस्पताल लग्ने तयारी गरे । विहान करिव ११ बजे परिवार र आफन्तले देवकलालाई डोलामा राखेर अस्पताल लग्दै थिए । सिमसिम पानी पनि परिरहेको थियो ।
बाटो बिग्रिएर बडो मुस्किलले पैदल हिड्न सकिए पनि गाडी चल्न सक्ने अवस्था थिएन । देवकलालाई बेथाले झन् पछि झन् च्याप्दै लग्यो । अन्तस् अस्पताल पुर्याउन नपाउँदै देवकलाले ११.४० बजेको समयमा बीच बाटोमै बच्चा जन्माइन् । बच्चा जन्मिएपछि बल्ल भालुवाङ अस्पताल पुर्याए । त्यहाँ आमा र बच्चाको स्वास्थ्य परिक्षण गरियो । आमा र बच्चाको अवस्था सामान्य थियो ।
बच्चाको तौल ३ किलो रहेछ । आमा भने सानै उमेरमा विवाह गरेका कारण र अस्पताल सम्म बेलामै पुर्याउन नसक्दा रगत अलि बढी बगेको अस्पतालका सिनियर अहेव भुवन भण्डारीले जानकारी दिए । उनको अवस्था सामान्य भए पछि अस्पतालले बेलुका डिस्चार्ज गर्यो । देवकलाले यो दोस्रो सन्तानको रुपमा बच्चा जन्माएकी हुन् ।
देवकला जस्तै पहाडी गाउँका महिलाहरुले यसरी नै गाउँमा स्वास्थ्य संस्था नहुँदा घरमा वा बाटोमा बच्चा जन्माउनु परेको छ । कतिपयको यसैका कारण ज्यान समेत जाने गरेको छ । राप्ती गाउँपालिकाको देवीकोटमा स्वास्थ्य इकाई केन्द्र भए पनि सवैलाई पायक पर्ने ठाउँमा वर्थिङ्ग सेन्टर नहुदा वर्षेनी पहाडी गाउँका स्थानीयहरुले दुस्ख खेप्नु परेको छ ।