22.6 C
Kathmandu
Thursday, August 14, 2025
spot_img

तराईका जिल्लामा खडेरीले धानबारिमा धाँजा फाट्यो, बीउ सुक्न थाल्यो

रुपन्देही । असार महिना सकिनै लाग्दा तराईमा राम्रोसँग पानी पर्न सकेको छैन । अन्नभण्डारको रुपमा चिनिने तराईमा असार महिनाभर पानी नपर्दा रोपाइँ प्रभावित भएको छ । रोपेको धान पनि खडेरीले सुक्दै गएको छ ।

रुपन्देहीसहित लुम्बिनी प्रदेशका तराईमा पर्ने ६ जिल्लामा पानी नपर्दा रोपेको धानमा धाँजा फाटेको छ । भर्खरै रोपेको धानलाई प्रशस्त पानीको आवश्यक पर्छ । रुपन्देहीको बढी धान उत्पादन हुने क्षेत्र मर्चवार, मायादेवीलगायतका क्षेत्रमा पानी नपर्दा ब्याडमै बीउ सुक्न थालेको छ । तराईका अधिकांश क्षेत्रका किसान आकाशेपानीकै भरमा रोपाइँ गर्नुपर्ने अवस्थामा छन् ।

पानी नभएर रोपेको धान सुक्दा यो वर्ष धान उत्पादन घट्ने चिन्ताले किसानलाई सताएको छ । लुम्बिनी प्रदेशमा ७५ प्रतिशत धान रोपाइँ हुने क्षेत्रमा आकाशेपानीको भर पर्नुपर्ने अवस्था रहेको सरकारी तथ्यांकले देखाउँछ । तराईमा असार १४ पछि पानी परेकै छैन, जसले गर्दा टण्टलापुर घामले खपिनसक्नु गर्मी बढ्दा जनजीवनसमेत प्रभावित भएको छ ।

रूपन्देहीको सम्मरीमाईका किसान जग्गनाथप्रसाद कुर्मीले २ बिघामा धान रोप्न पाएका छैनन । रोपेको धान पनि सुकेको छ । किसान कुर्मी भन्छन्, ‘बीउ काम नलाग्ने भइसक्यो । लामो खडेरीले धान सुक्यो । अब उत्पादन घट्ने भयो । बढ्दो महँगीले पप्मसेट प्रयोग गरेर रोप्न सक्ने अवस्था पनि छैन । रोपेकाहरूले पनि जोगाउन नसक्ने अवस्था भयो ।’ तराईमा २५ देखि ३० दिनको बीउ रोप्नुपर्ने हुन्छ । तर, लामो समय पानी नपर्दा बीउ ४५ दिनको पुगेको छ ।

लुम्बिनी प्रदेशमा ३ लाख २० हजार २७५ हेक्टर क्षेत्रमा धान खेती हुँदै आएको छ । सबैभन्दा धेरै बाँके र बर्दियामा खडेरीले रोपेको धानलाई असर पुर्‍याएको छ । लुम्बिनी प्रदेश कृषि खाद्य प्रविधि तथा भूमि व्यवस्था मन्त्रालयका वरिष्ठ कृषि विकास अधिकृत अमरराज शर्मा घिमिरेले खडेरीले बाँकेमा अहिलेसम्म जम्मा ४० प्रतिशत मात्र रोपाइँ भएको बताए ।

उनले समग्रमा प्रदेशभर ७५ प्रतिशत रोपाइँ सकिएको उनको भनाइ छ । पश्चिम नवलपरासीमा करीब धान रोपाइँ सकिएको छ । ढिलो रोपाइँ हुँदा धानको बाला नलाग्ने समस्या हुन्छ, जसले गर्दा उत्पादनमा ठूलो असर पुर्‍याउँछ,’ अधिकृत शर्माले भने ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स