भक्तपुर । भक्तपुरको नगरकोट–कमलविनायक सडकको निर्माण शुरू भएको ६ वर्षभन्दा बढी हुँदासमेत सम्पन्न नभएको भन्दै नगरकोटका वडाध्यक्षले सडकबाटै कार्यालयको काम थालेका छन् । चाँगुनारायण नगरपालिका वडा नं. ६ का अध्यक्ष धनबहादुर लामाले दबाबमूलक कार्यक्रम स्वरुप सडकबाटै कार्यालयको काम थालेका हुन् ।
भक्तपुर-नगरकोटको सडक नबनाएको भन्दै उनले विरोधमा लामाटोलस्थित सडकमा बसेर कार्यालय सञ्चालन गरेका हुन्। उनी सोमबार बिहान १० बजेदेखि सडकमा कुर्सी र टेबल राखेर बसेका छन्। सेवाग्राहीहरू पनि सडकमै आइपुगेका छन्।यो सडकको निर्माणको ठेक्का शैलुङ कन्स्ट्रक्सन कम्पनीले पाएको छ । यसका सञ्चालक शारदा अधिकारी नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का घरबेटी हुन् । वर्षौंसम्म पनि ठेकेदार शारदाप्रसाद अधिकारीको शैलुङ कन्स्ट्रक्सनले सडक नबनाएपछि विरोधस्वरूप आफू सडकमा आउनु परेको उनी बताउँछन्।
प्रचण्डको आडमा ठेकेदार अधिकारीले मनोमानी गर्ने गरेको आरोप पनि लाग्ने गरेको छ । पटक(पटक विरोध जनाउँदासमेत सडक निर्माण नभएपछि वडाध्यक्षको नेतृत्वमा दबाबमूलक कार्यक्रम गर्नुपरेको स्थानीयले बताएका छन् । उनीहरूले थप आन्दोलनका कार्यक्रमहरू गर्ने जनाएका छन् ।
नगरकोटसम्मको बाटो बनाउनका लागि शैलुङसँग ३१ करोड ५२ लाख ९२ हजार २ सय २० रुपैयाँमा सम्झौता भएको थियो। सम्झौता अनुसार ठेकेदार २०७३ असार ४ गते सम्ममा निर्माण सम्पन्न गरी बुझाउनुपर्ने थियो। त्यसबेला नबनेपछि कन्स्ट्रक्सनले पटकपटक म्याद थप गर्दै आएको छ।