विराटनगर । आगामी आर्थिक वर्षका लागि विराटनगर महानगरपालिकाले ल्याएको ३ अर्ब ६२ करोड ५५ लाख ६७ हजार रुपैयाँको अनुमानित बजेट पारित भएको छ । हिजो शनिबार बसेको १० औँ नगर सभाको दोस्रो बैठकले बजेट पारित गरेको हो । महानगरले असार १० गते बजेट प्रस्तुत गरेको थियो । आर्थिक वर्ष ०७९र८० को बजेट आर्थिक वर्ष ०७८र७९ कोभन्दा १५ प्रतिशतले कम हो ।
त्यसै गरी आजकै बैठकले केही महत्त्वपूर्ण नीतिगत निर्णयहरूसमेत गरेको प्रमुख प्रशासकीय अधिकृत उमेश बस्नेतले जानकारी दिए । बैठकले उपमेयर शिल्पा निराला कार्कीको संयोजकत्वमा न्यायिक समिति र महानगर सदस्य बलराम कारञ्जितको संयोजकत्वमा लेखा समिति पनि गठन गरेको छ । न्यायिक समितिको संयोजक उपमेयर हुने संवैधानिक व्यवस्था छ । न्यायिक समितिको सदस्यमा वडा नम्बर ११ का अध्यक्ष तीथेन्द्र न्यौपाने र वडा नम्बर ९ की सदस्य रुपा देउजा चयन हुँदा लेखा समितिको सदस्यमा २ नम्बर वडाकी सदस्य मेनुका परियार र ९ नम्बर वडाका सदस्य रियाज अहमदलाई बैठकले सर्वसम्मतिले चयन गरेको छ ।
बैठकलाई सम्बोधन गर्दै नगर प्रमुख नागेश कोइरालाले महानगरको आफ्नो स्रोतले मात्रै समग्र विराटनगरको विकास नहुने धारणा राखे । ‘सबै वडालाई धेरैभन्दा धेरै बजेट छुट्याएर समग्र विराटनगरको विकास गरौँ भन्ने इच्छा र चाहना त कति धेरै छ,’ उनले भने, ‘तर हाम्रो क्षमता छैन । हाम्रो आर्थिक अवस्था कमजोर छ । जबसम्म हामीले राजस्व सङ्कलनलाई १ अर्ब नघाउँदैनौ तबसम्म सोचेजस्तो विकास गर्न सक्दैनौँ ।’ कोइरालाले भौतिक संरचना निर्माणसँगै खानेपानी, सरसफाइ, डुबान समस्या समाधानका लागि बजेटका विषयमा दातृ निकायहरूसित छलफल भइरहेको बताए । उपमेयर कार्कीले पनि महानगरको आर्थिक अवस्था बलियो बनाउनुपर्नेमा जोड दिइन् ।