21.5 C
Kathmandu
Thursday, August 14, 2025
spot_img

अविरल वर्षाका कारण मोरङमा बाढीले ११ सय ७३ परिवार विस्थापित

विराटनगर । सोमबारदेखिको अविरल वर्षाका कारण मोरङको विभिन्न स्थानमा डुबानमा परेको छ। बाढीले बगाएर सुन्दरहरैँचा–६ सिसौघारीका ५५ वर्षीय रामबहादुर विकको गछिया खोलाले बगाएर मृत्यु भएको छ। वर्षासँगै खोलामा आएको बाढीका कारण आजसम्म मोरङ जिल्लाका ११ सय ७३ परिवार विस्थापित भएको जिल्ला प्रहरी कार्यालय मोरङले जानकारी दिएको छ।

डुबानका कारण विराटनगर महानगरपालिका –८ मा सिंघीया खोलाको पानी बस्तीमा पस्दा २५ घर डुबानमा परेको छ भने डुबानका कारण १५ परिवार विस्थापित भएका छन्। यस्तै बेलबारी नगरपालिका–६ मा बाहुनि खैटे खहरे खोलाको पानी बस्तीमा पस्दा ८ घर डुबानमा परेको छ भने ३३ परिवार विस्थापित भएका छन् । यस्तै कटहरी गाँउपालिका– १ मा टाइगर खोला र सिंघीया खोलाको पानी बस्तीमा पस्दा ४० घर डुबानमा परेको छ भने २ सय ५० परिवार विस्थापित भएको छ।

यस्तै कटहरी १ कै हुनमान मन्दिर क्षेत्रमा सिंघीया खोलाको पानी पस्दा ४० घर डुबानमा परेको छ भने १ सय ७० परिवार विस्थापित भएका छन्। यस्तै विराटनगर महानगरपालिका– २ मा २० घर डुबानमा परेको छ भने ७५ परिवार विस्थापित भएका छन्। यस्तै ग्रामथान–२, कानेपाखेरी–६, सुनवर्सी नगरपालिका – ६, पथरीशनिश्चिरे–५, उर्लाबारी–८, बुढिगंगा गाउपालिका–६ र जहदा १ र २ का बासिन्दा डुबानमा परेको जिल्ला प्रहरी कार्यालय मोरङको तथ्यांकमा उल्लेख छ।

बाढीले कहाँ कति क्षति

खोलामा पानीको बहाव बढेसँगै मोरङका विभिन्न भाग जलमग्न भएको छ। भने खोला छेउछाउका बस्ती डुबानमा परेका छन्। बाढीका कारण मोरङको खनियाकट्टा स्थित विराटचोक घिनाघाट सडक खण्डको बिचमा निर्माणाधिन अवस्थामा रहेको पुल छेवैको होमपाइप बगाउँदा केही समय बाटो अवरोध भए पनि डाईभर्सन गरी बाटो सुचारु गरिएको मोरङ प्रहरी प्रवक्ता डिएसपी दिपक श्रेष्ठले जानकारी दिए।

उनका अनुसार भलुवा खोला बाढीले बगाउँदा तेजबहादुर दर्जीको सुंगुरको खोर बगाएर लगेको छ। यस्तै मौलिबारी स्थित बक्राहा खोलाको पानी बस्तीमा पस्दा करिब ६० घर डुबानमा परेको छ। राजवंशी चोक र हरिनगरस्थित सिंघीया खोलाको पानी वस्तीमा पस्दा ४५० परिवार विस्थापित भएका छन्। सबै क्षेत्रका विस्थापित परिवारलाई सुरक्षित स्थानमा सारिएको डिएसपी श्रेष्ठले बताए। ‘डुबानमा परेका सम्पूर्णलाई सुरक्षीत स्थानमा सारिएको छ, कोही सुरक्षीत स्थानमा त्रिपाल टाँगेर बस्नुभएको छ, कोही आफन्तको बस्नुभएको छ, कसैलाई कृषि थोक बजारको भवनमा सारिएको छ भने कोही स्कुलको भवनमा बस्नुभएको छ,’ उनले भने।

तीन दिन विद्यालय बन्द

विराटनगर महानगरपालिकाले महानगर क्षेत्रभित्र सञ्चालमा रहेका विद्यालय तीन दिनका लागि बन्द गर्ने निर्णय गरेको छ। मंगलबार साँझ बसेको बैठकले यस्तो निर्णय गरेको हो। अविरल वर्षाका कारण बाढी र डुबानको जोखिम बढ्दै गएकाले असार १५ देखि १७ गते सम्म निजी तथा सामुदायीक विद्यालय बन्द गर्ने निर्णय महानगरले गरेको हो।

निरन्तर वर्षाका कारण विद्यालय सञ्चालन तथा नियमित पठन पाठनमा समस्या उत्पन्न भएका तथा विद्यालय अस्थायी सेन्टरका लागि प्रयोग हुने भएकाले वर्षे तथा हिउँदे बिदा कट्टा हुने गरी तीन दिनका लागि विद्यालय बन्द गरिएको महानगरको शैक्षिक प्रशासन महाशाखा प्रमुख दुर्गाप्रसाद खतिवडाले जानकारी दिए।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स