23.4 C
Kathmandu
Friday, August 15, 2025
spot_img

चाँगुनारायणका नगर प्रमुखलाई दीर्घकालीन योजना ल्याउन विज्ञहरुको आग्रह

भक्तपुर । चाँगुनारायण नगरपालिकाभित्र बसोबास गर्ने बौद्धिक, प्राज्ञिक एवं सरकारी उच्च तहमा रहेर कार्य गरिरहेकाहरुले चाँगुनारायणको विकासका लागि दीर्घकालीन योजना एवं भूउपयोग नीति बनाउन आग्रह गरेका छन् ।

नवनिर्वाचित नगर प्रमुख जीवन खत्रीलाई आज आयोजित नागरिक समाजसँगको अन्तक्र्रियामा विज्ञहरुले दीर्घकालीन योजना एवं भूउपयोग नीति नहुँदा चाँगुनारायणको सम्पदादेखि खनिजसम्म सङ्कटमा परेको भन्दै यस्ता नीति बनाउन आग्रह गरेका हुन् ।

कार्यक्रममा नेपाल सरकारका पूर्वसचिव वामनप्रसाद न्यौपानेले उपत्यकाका काठ क्षेत्रको विकासमा सरकारले दीर्घकालीन सोच नराख्दा राजधानी उपत्यकाका काठ क्षेत्र अहिले पनि विकट जस्तै सास्ती खेप्नु परेको भन्दै यसलाई अब स्थानीय सरकारले सम्बोधन गर्नुपर्ने औल्याउनुभयो ।

उहाँले प्रदूषण फैलाउने इँटा उद्योगलाई तत्काल हटाउनुपर्ने, यहाँका प्राकृतिक बालुवा खानी, माटो खानी र जमिन मुनिको पानीको दोहनलाई तत्काल रोक्नुपर्ने, गैरकानुनी जग्गा प्लटिङ् रोकेर कृषियोग्य जमिनको संरक्षण गर्नुपर्ने, नगरपालिकाले दीर्घकालीन योजना र भूउपयोग रणनीति तत्काल ल्याउनुपर्ने बताउनुभयो ।

संसद् सचिवालयका सचिव सुदर्शन खड्काले अन्तर्राष्ट्रिय क्रिक्रेट मैदान बनाउने नाममा चाँगुको डाँडो भासेर अवैध बालुवा माटो बिक्री गरिएको भन्दै आपत्ति जनाउनुभयो । उहाँले विश्व सम्पदा सूचीमा रहेको चाँगुनारायणमा बालुवा र माटोको व्यापक दोहन भएकाले सार्वजनिक यातायातका साधनको सहज पहुँच अधिकांश क्षेत्रमा नहुँदा यहाँका बासिन्दाले सास्ती खेप्नु परेको औँल्याउनुभयो ।

नेपाल सरकारका सहसचिव धु्रव गैँडाले दिगो विकास र सुशासनमा केन्द्रित भएर नगरपालिका अगाडि जानुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा पत्रकारद्वय विकास थापा र सुन्दर खनालले नगरपालिका पारदर्शी र सूचनामैत्री हुनुपर्ने, सबै सूचना वेबसाइटमा अपडेट हुनुपर्ने तथा जनताको आवश्यकताका आधारमा योजना बनाउनुपर्ने बताउनुभयो ।

विज्ञहरु नेत्रप्रसाद न्यौपाने, पुरण फुँयाललगायतले सामुदायिक विद्यालयको शिक्षा अझै पनि ४० वर्ष अगाडिकै पद्दतिमा चलिरहेको भन्दै नयाँ पाठ्यक्रम निर्माण गर्ने, नयाँ समय र प्रविधिअनुरुप शिक्षालाई ढाल्दै लैजानुपर्ने आवश्यकता औंल्याउनुभयो ।

गीतकार तथा साहित्यका हरिहर तिमिल्सिना, नेपाल रेडक्रस सोसाइटी केन्द्रय महामन्त्री एवं भक्तपुर सभापति मनोज थापा, प्राध्यापक शिव मुनकर्मी, स्वास्थ्य विज्ञ, प्राविधिक, कानुन, जलविद्युत् क्षेत्रका विज्ञहरुले नगरपालिकाको भ्रष्टाचार रोक्नुपर्ने, विरोध गर्नेको आवाज सुन्नुपर्ने, विकासलाई आजका लागि नभइ ५० वर्ष पछाडिसम्म सोचेर योजना बनाउनुपर्ने लगायतका सुझाव दिनुभयो ।

कार्यक्रममा नगर प्रमुख खत्रीले ऐतिहासिक सम्पदा एवं पर्यटकीय गन्तव्य रहेको यस नगरपालिकालाई देशकै नमूना नगरपालिका बनाउने लक्ष्यका साथ जनअपेक्षा र आवश्यकतालाई उच्च प्राथमिकतामा राखेर काम गर्ने बताउनुभयो । उहाँले कार्यक्रमबाट आएका सुझावलाई आत्मासात गर्ने जनाउँदै विभेदरहित ढङ्गले नगरको विकासमा आफ्नो कार्यकाल खर्चिने र नगरवासीको आवश्यकतालाई पहिचान गरी विकासका आयोजनालाई अगाडि बढाउने बताउनुभयो ।

कार्यक्रममा नगरपालिकाका प्रवक्ता एवं वडा नं ८ का वडाध्यक्ष जनक खत्रीले आर्थिक वर्ष २०७९र८० का लागि जनअपेक्षित नीति, कार्यक्रम तथा बजेट बनाउने उद्देश्यले विभिन्न कोणबाट छलफल र सुझाव सङ्कलन भइरहेको बताउनुभयो ।

त्यसअवसरमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद चापागार्इंले नगरपालिकाले विगतमा थालनी गरेका कामलाई निरन्तरता दिइने र अधूरा काम पुरा गरिने जानकारी गराउनुभयो । उहाँले आगामी आवका लागि नगरपालिकाले आन्तारिकतर्फ करिब रु ५२ करोडको बजेटको सिलिङ तयार पारेको बताउनुभयो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स