काठमाडौं । आगामी आर्थिक बर्ष २०७९/८० का लागि सरकारले आज बजेट प्रस्तुत गर्दैछ । आज बस्ने संघीय संसदको संयुक्त बैठकमा अर्थमन्त्री जनार्दन शर्माले बजेट प्रस्तुत गर्नुहुनेछ ।
सरकारले आगामी आर्थिक बर्षका लागि १७ खर्ब रुपैयाँ बराबरको बजेट प्रस्तुत गर्ने तयारी गरेको छ । यसैगरि आयात प्रतिस्थापन, औद्योगिक उत्पादनसंगै कृषिको उत्पादन वृद्धिलाई समेत बजेट मार्फत् सम्बोधन गर्ने तयारी सरकारले गरेको छ ।
आर्थिक वर्ष ०७९/०८० का लागि सरकारले आन्तरिक उत्पादनमा जोड दिने गरी बजेट ल्याउन लागेको छ। राष्ट्रिय योजना आयोगले १७ खर्ब, ४५ अर्बको बजेट सीमा निर्धारण गरेको छ। यो सीमाभित्रै रहेर बजेट ल्याउने सरकारको तयारी छ।
हरेक वर्ष जेठ १५ गते बजेट पेश गर्ने संवैधानिक प्रावधान छ । यसअघि सरकारले हिजो प्रतिनिधि सभाको बैठकमा चालु आर्थिक बर्षको आर्थिक सर्वेक्षण प्रस्तुत गरेको थियो ।
सर्वेक्षणमा चालु आर्थिक बर्षको शुरुको नौ महिनामा मुलुकको विभिन्न क्षेत्रमा भएको काम कारवाही तथा आर्थिक गतिविधिका तथ्याङ्कहरु समेटिएको छ । साथै सर्वेक्षणले चालु आर्थिक बर्षको अन्त्यसम्ममा मुलुकले हासिल गर्ने उपलब्धीको अनुमान समेत प्रस्तुत गर्ने गरिएको छ ।