22.7 C
Kathmandu
Wednesday, August 13, 2025
spot_img

मेलम्चीको पानी सुन्दरीजल पठाउने तयारी

काठमाडौँ । मेलम्ची खानेपानी आयोजना सञ्चालनको अन्तिम चरणमा पुगेको छ । बाढी र पहिरोले क्षतिग्रस्त आयोजना क्षेत्रको सफाइ र मर्मतका काम सकिएसँगै मेलम्चीको पानी काठमाडौँको सुन्दरीजलस्थित प्रशोधन केन्द्रमा पठाउने अन्तिम तयारी भएको हो ।

गत असार १ र साउन १७ गते सिन्धुपाल्चोकको मेलम्ची खोलामा आएको बाढी पहिरोले आयोजनाका संरचना क्षतिग्रस्त बनेका थिए । नेपाल सरकारले मेलम्ची खानेपानी आयोजना यही चैत मसान्तभित्र सञ्चालन गर्ने लक्ष्य लिएको छ । आयोजनाका प्रमुख कार्यकारी निर्देशक वासुदेव पौड्यालले क्षतिग्रस्त आयोजनाको सफाइ तथा मर्मतको काम पूरा भई पानी पथान्तरणको तयारी भइरहेको जानकारी दिनुभयो । खानेपानीमन्त्री उमाकान्त चौधरीले सरकारले तोकेको समयसीमाभित्र पानी काठमाडौँ ल्याउने गरी कार्ययोजना बनाउनुभएको थियो । उहाँले त्यसअनुरूप काम भए नभएबारे पटक–पटक स्थलगत निरीक्षण गर्दै आउनुभएको थियो ।

मेलम्ची खानेपानी आयोजना विकास समितिका वरिष्ठ इन्जिनियरसहित डेढ दर्जनभन्दा बढी प्राविधिक टोली आयोजना क्षेत्रमा खटिएका छन् । आयोजनाको मुख्यद्वारमा थुप्रिएको गेग्य्रान र ठूला चट्टान हटाएर सुरुङ मार्गको सफाइपछि पानी सुन्दरीजलस्थित प्रशोधन केन्द्रमा पठाउन लागिएको हो । मेलम्ची खोलाको पानी २७ किलोमिटर सुरुङमार्ग हुँदै दैनिक १७ करोड लिटर उपत्यकामा ल्याइने छ ।

आयोजनाका प्रमुखद्वार ‘वफर ड्याम’देखि अम्बाथानसम्मको ८०५ मिटर सुरुङमार्गभित्र जम्मा भएको लेदो सफाइ गरी सुरुङ प्रवेश गर्ने मुख्य ढोका खोलिएको छ । बाहिरी भागमा थुप्रिएका ठूला चट्टान नेपाली सेनाको विशेष टोलीले विस्फोट गरी हटाएको छ । मेलम्ची खानेपानी विकास समितिका सिनियर डिभिजन इन्जिनियर पदम कुँवरले पूर्वअनुमान गरेभन्दा धेरै क्षति गरेको पाइएकाले चैतको दोस्रो सातासम्म काठमाडौँ पानी पुर्याउने लक्ष्यमा केही ढिलाइ भए पनि चैत मसान्तभित्रै पानी पठाउन तयारी भएको बताउनुभयो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स