23.2 C
Kathmandu
Saturday, August 16, 2025
spot_img

सार्वजनिक यातायातको भाडा १५ प्रतिशतसम्म बढ्ने

काठमाडौँ । सरकारले सार्वजनिक यातायात तथा ढुवानीको भाडा बढाउने निर्णय गरेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले यातायात व्यवस्था विभागको सिफारिसअनुसार सार्वजनिक यातायातको भाडा १० देखि १५ प्रतिशतसम्म वृद्धि गर्ने निर्णय गरेको हो ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवले बिहीबार सार्वजनिक यातायात तथा ढुवानीको भाडा समायोजन गर्ने निर्णय गरेकी हुन् । अन्तरप्रदेश (लामो दूरीका) यातायात र ढुवानीको भाडा समायोजन गरिएको विभागका महानिर्देशक नमराज घिमिरेले जानकारी दिए । ‘पेट्रोलियम पदार्थको मूल्यवृद्धिलगायतका आधारमा भाडा समायोजन गरिएको हो,’ उनले भने, ‘कहाँ समायोजन भयो, कति भाडा कायम भयो भन्ने सूची प्रकाशन गर्नेछौँ र आइतबारदेखि नै लागूसमेत हुनेछ ।’ गत असार महिनायता पेट्रोलियम पदार्थको मूल्य करिब ३४ प्रतिशतसम्मले बढेको र त्यसलाई आधार मान्दा अहिले सार्वजनिक यातायातको भाडा १० देखि १५ प्रतिशतसम्म बढ्न सक्ने देखिएको उनले बताए । यद्यपि, के–कति समायोजन हुने भन्ने आइतबार मात्रै सार्वजनिक हुने उनले बताए ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले नौ महिनापछि सार्वजनिक यातायातको भाडा समायोजन भएको बताए । ‘गएको असारमा भाडा समायोजन भएको थियो, यसबीचमा डिजेलको भाउ नै ३४–३५ रुपैयाँ प्रतिलिटर बढिसकेको छ,’ उनले भने, ‘हामी धान्नै नसक्ने अवस्थामा पुगिसकेका थियौँ, ढिलै गरी भए पनि भाडा समायोजन हुने निर्णय भयो, जुन स्वागतयोग्य छ ।’

सार्वजनिक यातायात तथा ढुवानीको भाडादर अब स्वचालित हुने भएको छ । हरेक वर्षको चैत महिनामा भाडा समायोजन हुनेछ । त्यस्तै, पेट्रोलियम पदार्थको मूल्य ५ प्रतिशत वा सोभन्दा बढी दरमा परिवर्तन हुनेबित्तिकै सार्वजनिक यातायात र ढुवानीको भाडासमेत समायोजन हुने विभागका महानिर्देशक घिमिरेले जानकारी दिए । ‘हामीले वैज्ञानिक भाडादर प्रणालीसँगै अब सार्वजनिक यातायातको भाडादरलाई स्वचालित बनाएका छौँ,’ उनले भने, ‘अब हरेक वर्षको चैतमा मूल्य समायोजन हुनेछ, त्यसका अलाबा पेट्रोलियम पदार्थको मूल्य ५ प्रतिशत घटीबढी हुनेबित्तिकै भाडासमेत घटबढ हुनेछ ।’

स्वचालित भाडादरका लागि १३ वटा सूचक तयार पारिएका छन् । सबैभन्दा बढी अर्थात् ३५ प्रतिशत वेटेज भएको सूचक पेट्रोलियमको मूल्यलाई तोकिएको छ । महासंघका महासचिव सिटौलाले भाडादर स्वचालित हुनु सबैको हितकारी हुने बताए । ‘अहिले पेट्रोलियमको भाउ बढ्नेबित्तिकै हामी भाडा बढाउनुपर्छ भन्छौँ, पेट्रोलियमको भाउ घट्नेबित्तिकै सरकारले हामीलाई भाडा घटा भन्छ, यसमा वेला–वेला विवाद पनि हुन्छ,’ उनले भने ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स