काठमाडौं । प्रतिपक्षी नेकपा एमालेले आगामी वैशाख ९ गते स्थानीय तह निर्वाचनको घोषणा पत्र सार्वजनिक गर्ने निर्णय गरेको छ । सोमबार बसेको पार्टी पोलिटब्यूरो बैठकले नेपाल कम्युनिस्ट पार्टी स्थापनाको दिवसको अवसर पारेर वैशाख ९ गते स्थानीय तह निर्वाचनको घोषणा पत्र सार्वजनिक गर्ने निर्णय गरेको हो ।
बैठकले निर्वाचनमा उम्मेदवारको ६ मापदण्ड पनि तय गरेको छ । ‘स्थानीयतहको उम्मेदवारको सिफारिस गर्दा वडा अध्यक्ष वा सदस्यको सिफारिस वडा कमिटीले र निर्णय पालिका कमिटीले गर्नेछ । गाउँपालिका वा नगरपालिका उम्मेदवारको सिफारिस जिल्ला कमिटीले गर्ने र यसको आधारमा प्रदेश कमिटीले निर्णय गर्नेछ । नगरपालिकाको हकमा पनि प्रदेश कमिटीले निर्णय गर्ने उहाँले बताउनुभयो । महानगरपालिकाको मेयर, उपमेयरको सिफारिस प्रदेश कमिटीले गर्ने र यसको निर्णय भने केन्द्रीय कमिटीले गर्नेछ ।
जनप्रतिनिधिको कामको मूल्यांकन, उनीहरुके कार्यक्षमता, विकास, सुशासनप्रति उनीहरुको दृष्टिकोण र चुनावमा विजयको सुनिश्चितता अर्को मापदण्ड रहनेछ । पार्टीको आन्दोलनप्रतिको योगदान, निष्ठालगायत संविधानको आधारमा सन्तुलन र समावेशीता उम्मेदवारको मापदण्डहरु तय भएको उहाँले बताउनुभयो ।
स्थानीय तहको चुनावमा केन्द्रीय सदस्यको भूगोल जहाँ–जहाँ पर्छ उनीहरुले पार्टी र चुनावको नेतृत्व गर्ने पनि उहाँको भनाई छ । बैठकपछि पत्रकारसँग बोल्नुहुदै उहाँले चुनावमा एमाले आफ्नै शक्तिमा विश्वास गर्ने र अरुसँग तालमेल नगर्ने भनाई पनि राख्नुभयो ।