काठमाडौं। पशुपति क्षेत्र विकास समितिका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडाले आज १० लाख दर्शनार्थीले पशुपतिनाथको दर्शन गर्ने बताएका छन् । उनले भने, “महाशिवरात्रिका अवसरमा सहज दर्शनका लागि बिहान ३ बजेबाट पशुपतिनाथ मन्दिरका चारै ढोका खुला गरेका छौं । गत वर्ष कोरोना महामारीका कारण मन खोलेर दर्शन गराउन पाएनौं । यस पल्ट १० लाखले दर्शन गर्ने हाम्रो अनुमान छ ।”
१० लाख दर्शनार्थीमध्ये कम्तीमा दुई लाख भारतीय धार्मिक पर्यटक रहेको उनले बताए । डा। खतिवडाले थपे, “हामीले कतिपय पीठाधीश, शंकराचार्यलाई पनि निम्ता गरेका थियौं । भारतका राजनीतिक व्यक्तित्व पनि आएका छन् । कोरोनाको अवस्था हुन्थेन भने ५ लाख भारतीय पर्यटक मेला भर्न आउने सम्भावना हुन्थ्यो ।”
महाशिवरात्रिमा ३० हजार साधुसन्त जम्मा भएको पनि उनले जानकारी दिए । उनले भने, “यसपल्ट साधुसन्तको उपस्थिति बाक्लो छ । झन्डै ३० हजार साधु सन्त आएका छन् । साधुसन्तको सेवाका लागि गुठी संस्थानले दाउरा, खाना, आवास र दक्षिणाको व्यवस्था गरेको छ । व्यवस्थापनमा अपुग कुरा पशुपति क्षेत्र विकास कोषले हेर्छ ।”
उनका अनुसार महाशिवरात्रिमा एक घन्टामै दर्शन गर्न पाउने व्यवस्था मिलाइएको छ । भक्तजनको सहयोग र सुरक्षाका लागि सुरक्षाकर्मी र आवश्यक जनशक्ति खटाइएको छ । निःशुल्क खानेपानी, जुस, खाना वितरण र स्वास्थ्य उपचारका लागि सय वटा शिविर राखिएका छन् । दिउँसो त्यस क्षेत्रको यातायात बन्द हुनेछ ।
आज अपराह्न चार बजे राष्ट्रपति विद्यादेवी भण्डारी पशुपतिनाथको दर्शनका लागि पुग्ने कार्यक्रम छ । कोषका अध्यक्ष समेत रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले पनि दर्शन गर्ने कार्यक्रम छ । यसपटक पशुपतिनाथको कोर क्षेत्रमा फूलको सिँगार गरिएको छ । लाइटिङले पशुपति क्षेत्र झकिझकाउ देखिएको छ । तयारी पूरा नभएकाले यसपल्ट अनलाइन पूजा गर्न नसकिए पनि अर्को वर्ष त्यसको आवश्यक प्रबन्ध हुने पनि डा. खतिवडाले बताए ।
धार्मिक विश्वास अनुसार चार रात्रि (सुखरात्रि, मोहरात्रि, शिवरात्रि र कालरात्रि) मध्ये शिवरात्रि प्रमुख मानिन्छ । आराध्यदेव महादेव आफूभित्रका विकृति तिलाञ्जलि दिने भक्तहरुलाई आशुतोष भएर प्रसन्न हुन्छन् भन्ने आम विश्वास छ ।