सुर्खेत । सरकारले आगामी बैशाख ३० गते स्थानीय तहको निर्वाचन घोषणा गरेसँगै आवश्यक तयारीका लागि जिल्लास्थित सरोकारवाला निकाय सक्रिय बन्न थालेका छन्। जिल्ला सुरक्षा समितिको टोलीले सर्खेतका नौ वटै स्थानीय तहमा पुगेर पायक पर्ने मतदानस्थल र संवेदनशीलताबारे अध्ययन गर्ने क्रममा सुर्खेतका २९ वटा मतदानस्थल अतिसंवेदनशील मानिएको छ।
आगामी निर्वाचनका लागि तोकिएका एक सय ३८ मतदानस्थलमध्ये २९ वटा अतिसंवेदनशील देखिएको प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालले जानकारी दिए। संवेदनशील भएका स्थानहरुमा कस्तो सुरक्षा व्यवस्थापन मिलाउने भन्नेबारे सुरक्षा निकायसहित स्थानीय तहसँग समन्वय भइरहेको प्रमुख जिल्ला अधिकारी रिजालको भनाइ छ।
त्यस्तै, ७६ वटा मतदानस्थल संवेदनशील र ३३ वटा स्थल सामान्य रहेका छन्। निर्वाचनका लागि मतदानस्थल र केन्द्र उपयुक्त स्थानमा छन् या छैनन् र सुरक्षाका हिसाबले कति जोखिम छन्, छैनन् भन्ने अध्ययन थालिएको हो।
रिजालका अनुसार तोकिएको मतदानस्थलमा चार वटा सुरक्षा निकायले समन्वय गरी सुरक्षा व्यवस्था मिलाउने तयारी गरिएको छ। निर्वाचन क्षेत्रमा अतिसंवेदनशील र संवेदनशील स्थल र मतदान केन्द्रहरुमा सुरक्षाकर्मी खटाइने उनले बताए।
सुर्खेतमा निर्वाचनका लागि दुई सय ७६ मतदान केन्द्र रहेको प्रदेश निर्वाचन अधिकारी दुर्गाप्रसाद चालिसेले जानकारी दिए। सरकारले निर्वाचनको मिति घोषणा गरेलगत्तै निर्वाचनको आवश्यक तयारी तीव्र गतिमा भइरहेको छ ।
मतदाता नामावली सच्याउनुपर्ने, त्रुटि हटाउने काममा सबैले सहयोग गर्न समेत आग्रह गरेका छन्। फागुन १९ गते स्थानीय तहहरुमा मतदाता नामावली टाँस गरी त्रुटि हटाउने, नाम सच्याउने लगायतको काम हुनेछ। यो काम सकेलगत्तै चैत १३ गते अन्तिम नामावली प्रकाशित गरिने निर्वाचन अधिकारी चालिसेको भनाइ छ।