28.8 C
Kathmandu
Tuesday, August 12, 2025
spot_img

एक करोड ७९ लाख मतदाता, वैशाख २९ गते सम्म १८ वर्ष पुग्नेले मतदान गर्न पाउने

काठमाडौं । २०७९ साल वैशाख ३० गतेका लागि निर्धारित भएको स्थानीय तहको निर्वाचनमा वैशाख २९ गते सम्म १८ वर्ष पुग्ने नागरिकले मतदान गर्न पाउने भएका छन्। निर्वाचन आयोगले वैशाख २९ लाई ‘कट अफ डेट’ कायम गरी मतदाता नामावली तयार गर्ने भएको हो।

सरकारले ९५ दिनको अवधिसहित माघ २४ गते स्थानीय तहको निर्वाचन एकै चरणमा अर्को वर्ष वैशाख ३० गते सम्पन्न गर्न आयोगलाई माघ २४ गते सिफारिस गरेको थियो। सरकारबाट घोषणा भएकै मितिमा स्थानीय तहको निर्वाचन आयोगले सम्पन्न गर्नेगरी कार्यहरु भइरहेको आयोगले वक्तव्य मार्फत जानकारी दिएको छ।

१६ वर्ष उमेर पुगेका नेपालीको नागरिकता बन्ने र सोही उमेर देखि मतदाता नामावलीमा नाम संकलन गर्ने गरिएपनि संविधानको व्यवस्था बमोजिम १८वर्ष पुगेका नागरिकलाई मतदानको अधिकार दिइएको छ। निर्वाचनको मिति घोषणा भएपछि आयोगले माघ २५ गते देखि नै मतदाता नामावली संकलन कार्य रोकेको छ। अन्तिम मतदाता नामावली अध्यावधिक गर्ने कार्य जारी रहेको आयोगले जनाएको छ।

२०७४ सालको निर्वाचनमा १ करोड ५४ लाख २७ हजार ९३८ जना मतदाता थिए। गत वर्ष पुस ५ गतेसम्म १ करोड ६२ लाख ४३ हजार ११० जना मतदाता कायम भएका थिए। यसअघिका निर्वाचनमा आयोगले ‘कट अफ डेट’ निर्वाचन घोषणा गरेको दिनलाई मानेर सोही दिन सम्म १८ वर्ष उमेर पुगेका नागरिकलाई मतदानको अधिकार दिँदै आएकोमा यसपटक निर्वाचनको अघिल्लो दिन सम्म १८ वर्ष उमेर पुग्ने नागरिकलाई मतदानको अधिकार दिने भएको हो। यसरी समय दिँदा थप दुई लाख युवाले आफ्नो मताधिकार प्राप्त गर्ने आयोगले जनाएको छ।

यसरी वैशाख २९ गतेलाई १८ वर्ष पुग्ने निर्दिष्ट मिति राख्दा वैशाख ३० गतेको निर्वाचनमा एक करोड ७९ लाख मतदाता कायम हुने निर्वाचन आयोगले अनुमान गरेको छ। आयोगले निर्वाचनका लागि अन्तिम नामावली तयार गर्ने, निर्वाचनका लागि राजनीतिक दल दर्ता गर्ने,निर्वाचन सामाग्रीको व्यवस्थापन गर्ने, निर्वाचन कार्यक्रम तयारी गरी प्रकाशन गर्ने, निर्वाचन अधिकृतको नियुक्ति र कार्यालय स्थापना गर्ने, निर्वाचन आचारसंहिता लागू गर्ने, निर्धारित मतदान स्थलहरूमा मतदान केन्द्र तोक्नेलगायतका निर्वाचन कार्यतालिका स्वीकृत गरिसकेको जनाएको छ। त्यस्तै निर्वाचनका लागि आवश्यक पर्ने बजेटको तयारी अन्तिम चरणमासमेत पुगेको आयोगले जनाएको छ।

‘स्थानीय तह सदस्य निर्वाचनमा आयोगका लागि करिव १२ अर्ब बजेट आवश्यक पर्ने अनुमान गरिए अनुसार नेपाल सरकारसँग बजेट प्रस्ताव सहित बजेट स्वीकृतीको प्रक्रियामा रहेको र सो अगावै निर्वाचन सामग्री खरिद प्रक्रिया अगाडि बढाउन अर्थ मन्त्रालयबाट बजेट सुनिश्चितता लिई प्रतिस्पर्धात्मक प्रक्रियाबाट बोलपत्र आह्वान गर्नेगरी मापदण्ड र स्पेशिफिकेशन स्वीकृत गरिएको छ,’ निर्वाचन आयोगले जारी गरेको वक्तव्यमा उल्लेख छ।

स्थानीय तह सदस्य निर्वाचनका लागि निर्वाचन आचारसंहिता, जनशक्ति व्यवस्थापन निर्देशिका, आर्थिक निर्देशिका, स्थानीय तह निर्वाचन निर्देशिका, निर्वाचन अनुगमन निर्देशिका, सुरक्षा व्यवस्थापन निर्देशिका, मतदान निर्देशिका, मतगणना निर्देशिका, मतदाता शिक्षा कार्यक्रम कार्यान्वयन निर्देशिका लगायतका निर्देशिकाहरुको मस्यौदा तयारी भईरहेकोसमेत जनाइएको छ।

निर्वाचन सम्पन्न नहुँदासम्म निर्वाचन आयोग र यस अन्तर्गतका कार्यालयहरुको संचालन समय बिहान ९ बजेदेखि साँझ ६ बजेसम्म कायम गरिएको छ। त्यस्तै विदाको दिनमा समेत नियमित कार्यसम्पादन गर्ने व्यवस्था मिलाइएको आयोगले जनाएको छ। आयोगले आसन्न स्थानीय तह सदस्य निर्वाचनमा विद्युतीय मतदान उपकरणको प्रयोगको सम्भाव्यताका सम्बन्धमा विज्ञहरुसँग छलफल गरी सात दिन भित्र अध्ययन प्रतिवेदन पेश गर्न एक कार्यदल समेत गठन गरेको छ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स