काठमाडौं । नेकपा माओवादी केन्द्रको शुक्रबार र शनिबार बोलाइएको केन्द्रीय समिति बैठक स्थगित भएको छ । कोरोना महामारीका कारण बैठक स्थगित गरिएको कार्यालय सचिव श्रीराम ढकालले जानकारी दिए ।
यसअघि माघ २७ गतेका लागि बोलाइएको बैठक बस्ने ठाउँ तय नभएका कारण माघ २८ र २९ गतेका लागि सारिएको थियो । बैठक कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको सभाहलमा बस्ने तय भएको थियो । तर अघिल्लो दिन बैठक स्थगित गरिएको हो ।
माओवादीको विधानमा एक अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, छ उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, तीन सचिव तथा एक कोषाध्यक्ष गरी १५ सदस्यीय पदाधिकारी हुने व्यवस्था छ । विशेषगरी पदाधिकारी चयनमा माओवादीभित्र सन्तुलन मिल्न नसक्दा सकस देखिएको छ । महासचिवमा प्रचण्डका विश्वासपात्र मानिने जनार्दन शर्मा र वर्षमानले नै दावी गरेपछि प्रचण्डलाई दुबै नेतालाई मिलाउन सकस देखिएको छ ।
पुस तेस्रो साता आठौँ राष्ट्रिय महाधिवेशन सम्पन्न गरेको माओवादीको केन्द्रीय समिति बैठक विभिन्न कारणबाट सर्दै आएको थियो । बैठक सरेपछि माओवादीले पदाधिकारी चयन गर्न सकेको छैन ।
माओवादीको केन्द्रीय समिति बैठकले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट एमसीसीका विषयमा पार्टीको धारणा प्रष्ट पार्ने र पार्टीका पदाधिकारी चयनबारे पनि छलफल गर्ने तय भएको नेताहरुको भनाइ थियो ।