30.4 C
Kathmandu
Tuesday, August 12, 2025
spot_img

मधेस प्रदेशमा विकास बजेट खर्च सुस्त, पूँजीगत खर्च ५ प्रतिशत भन्दा कम

धनुषा । मधेस प्रदेश सरकारको चालु आर्थिक वर्षको ६ महिनामा पूँजीगत खर्च ५ प्रतिशत भन्दा कम रहेको छ । मधेस प्रदेश सरकारले समयमा नै बजेट ल्याए पनि विनियोजित बजेट बाँडफाँड तथा रकमान्तर समेत नभएकाले चालु आर्थिक वर्षको ६ महिनामा पुँजीगत खर्च ५ प्रतिशतभन्दा माथि हुन सकेको छैन ।

प्रदेश सरकारले बजेट समीक्षा गरेर बजेट खर्च गति दिनको लागि सबै मन्त्रालयहरूलाई ताकेता गरेको छ । तर, मन्त्रालयहरुले विकास बजेट खर्च बढाउनको लागि चासो देखाएकाले कुनै पनि मन्त्रालयको बजेट खर्चको अवस्था नाजुक रहको छ । मधेस प्रदेश सरकारले बजेट भाषणमार्फत विनियोजित बजेट खर्च गर्न नसक्ने तर अर्थ मन्त्रालयबाट बजेट थप्न दबाब बढ्ने भएकाले पनि समस्या आएको अर्थ मन्त्रालयले जनाएको छ ।

मधेस प्रदेश सरकारका प्रवक्ता एवम् अर्थमन्त्री शैलेन्द्र साहले चालु आर्थिक वर्षको ६ महिनामा कुनै पनि मन्त्रालयको पुँजीगत खर्च मात्रै नभएर समग्र बजेट खर्च नै सन्तोषजनक नभएको स्वीकार गरे। उनले केही दिन अगाडि मात्रै प्रदेश सरकारले बजेटको अर्धवार्षिक समीक्षा गरेर विकास बजेट खर्च बढाउने गरी सरकार अगाडि बढेको बताए । मन्त्री साहले प्रदेश सरकारले समयमा नै पुँजीगत तथा विकास बजेट खर्च गर्न नसक्नुको मुख्य समस्या कर्मचारीको अभाव भएको बताए । उनले विगत वर्षको भन्दा चालु आर्थिक वर्षमा बजेट खर्च ८० प्रतिशतभन्दा बढी नै गर्ने सरकारको लक्ष्य रहेको बताए ।

अर्थ मन्त्री साहले भने,‘ ‘प्रदेश सरकारले केही समय अगाडि मात्रै बजेटको अर्धवार्षिक समिक्षा गरेको छ । प्रदेश सरकारका प्रायः कुनै पनि मन्त्रालयहरूको आर्थिक वर्षको छ महिनाको अवधिमा बजेट खर्च सन्तोषजनक छैन । बजेट समीक्षामा आर्थिक वर्षको छ महिनाको अवधिमा पुँजीगत खर्च कम हुनुको विभिन्न कारणहरु सरकारले औंल्याएको छ । सरकारले बजेट खर्चको गतिलाई बढाउने गरी अगाडि बढेको छ । सरकारले विगत चार वर्षको अनुभवका आधारमा भन्दा यो वर्ष अन्य वर्षको भन्दा बढी नै बजेट खर्च हुने सरकारले लक्ष्य राखेको छ । बजेट खर्च हुन नसक्नुमा दक्ष जनशक्तिको अभाव हुनु हो । यस्ता समस्या समाधानको लागि सरकारले पहल गरिरहेको छ । अहिलेसम्मको बजेट खर्चको प्रगति सुस्त रहेको छ ।’

त्यस्तै, भौतिक पूर्वाधार विकासमन्त्री राम सरोज यादवले नेपाली काङ्ग्रेसको महाधिवेशन लगायतमा आफूहरु व्यस्त भएकाले लक्ष्य अनुसार पुँजीगत खर्च गर्न नसकिएको बताए । उनले सरकारले विस्तारै बजेट खर्च गर्ने गति बढाउदै लगेकोले चालु आर्थिक वर्षमा ८० प्रतिशत बजेट खर्च हुने बताए । मन्त्री यादवले कर्मचारी अभाव र सरुवा भएका कारण बजेट खर्च समयमा नै हुन नसकेको तर्क गरे ।

त्यस्तै, अर्थ मन्त्रालयले दिएको जानकारी अनुसार सबै भन्दा कम बजेट खर्च मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले गरेको जनाएको छ । मुख्यमन्त्री कार्यालयद्वारा संचालन हुने योजनाहरुको काम अहिलेसम्म पनि शुरु नै भएका छैन । मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले पुँजीगत तर्फ २.५५ प्रतिशत, अर्थमन्त्रालयले ३२.१० प्रतिशत, उद्योग, पर्यटन तथा वन मन्त्रालयले १.५५ प्रतिशत, कानुन न्याय तथा प्रदेशसभा मामिला मन्त्रालयले शुन्य प्रतिशत, भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालयले ६.३ प्रतिशत, खानेपानी तथा उर्जा विकास मन्त्रालयले ११.५७ प्रतिशत, आन्तरिक मामिला तथा संचार ३.७४, वाणिज्य , आपुर्ति तथा विज्ञापन प्रविधि मन्त्रालयले शुन्य बजेट, भौतिक पुर्वाधार विकास मन्त्रालयले ८.७७ प्रतिशत, महिला,बालबालिका, युवा तथा खेलकुद मन्त्रालय ४.९९ प्रतिशत र समाजिक विकास मन्त्रालयले ६.२९ प्रतिशत बजेट खर्च गरेको छ । चालु आर्थिक वर्षमा प्रदेशसभाको पुँजीगत तर्फको बजेट एक करोड ३ लाख विनियोजन भएकोमा खर्च भने शुन्य रहेको  छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स