21.2 C
Kathmandu
Tuesday, August 12, 2025
spot_img

तीन महिनाभित्र तुइन विस्थापन गर्ने सरकारको तयारि

काठमाडौँ। सरकारले आगामी चैतभित्र तुइन विस्थापन गर्ने गरी काम गरिरहेको छ । कोरोनाको प्रकोप बढिरहेको बेलासमेत स्वास्थ्य मापदण्ड पूरा गर्दै तुइनको स्थानमा झोलुङ्गे पुल निर्माणको काम धमाधम भइरहेको सरकारी अधिकारीले बताएका छन् ।

देशभर १४३ वटा तुइन रहेकोमा अहिलेसम्म १३१ वटा तुइन विस्थापन गरी ती स्थानमा झोलुङ्गे पुल निर्माण गरिएको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गतको स्थानीय पूर्वाधार विभागले जनाएको छ । विभागका महानिर्देशक इश्वरचन्द्र मरहट्ठाले बाँकी रहेका झोलुङ्गे पुल निर्माण कार्य धमाधम भइरहेको बताउनुभयो ।

कोरोनाका कारण गत वर्ष भारतको सिमाना जोडिएका जिल्लाको भूभागतर्फ पुल निर्माणका लागि आवतजावत गर्न कठिन भएको थियो । यस वर्ष सबै पुल निर्माण गर्ने गरी विभागले काम गरिरहेको छ । विभागका अनुसार गण्डकी प्रदेशको नवलपरासीस्थित कालीगण्डकी नदीमा निर्माणाधीन मख्खुफाँट झोलुङ्गे पुलको निर्माण कार्य ७० प्रतिशत, कर्णाली प्रदेशको भेरी नदीको कुटाघाट मल्टिस्पान झोलुङ्गे पुलको ८० प्रतिशत र गल्फाघाट मल्टिस्पानको ८५ प्रतिशत काम सम्पन्न भइसकेको छ ।

त्यस्तै कर्णाली प्रदेशको सुर्खेतस्थित कर्णाली नदीको बुगाडघाट झोलुङ्गे पुलको २० प्रतिशत, सुदूूरपश्चिमको बझाङस्थित इगुलबार नदीमा निर्माणाधीन झोलुङ्गे पुल ९० प्रतिशत, कर्णाली प्रदेशको हुम्लास्थित कर्णाली नदीमा नाल्ला छिप्रा पुलको ६५ प्रतिशत र बोक्चे गौडाको झोलुङ्गे पुल निर्माण कार्य ६० प्रतिशत सकिएको छ ।

कर्णाली प्रदेशको दैलेख र अछाम जिल्लाको सिमानामा पर्ने कर्णाली नदीमा निर्माणाधीन लोप्रेमा ७५ प्रतिशत, सुदूूरपश्चिम प्रदेशको दार्चुलाको महाकाली नदीको बरती झोलुङ्गे पुलको ४० प्रतिशत काम सम्पन्न भएको छ । त्यसैगरी दार्चुलाको महाकाली नदीमा निर्माणाधीन झोलुङ्गे पुल ३५ प्रतिशत, दार्चुलाकै बाँकु झोलुङ्गे पुल ९६ प्रतिशत र बडुगाउँ झोलुङ्गे पुलको ९८ प्रतिशत काम सम्पन्न भएको विभागले जनाएको छ ।

कतिपय स्थानमा झोलुङ्गे पुल निर्माण गर्दा एकातर्फ भारतको भूभाग प्रयोग गर्नुपर्छ । भारततर्फको भूभागमा काम गर्दा दैनिक कति जना कामदारले काम गर्ने हो, सोहीअनुसार अनुमति लिएर मात्र काम गर्नुपर्ने भएकाले तुइन विस्थापन गरी झोलुङ्गे पुल निर्माण गर्न केही ढिला भएको महानिर्देशक मरहट्ठाले स्पष्ट गर्नुभयो । सरकारले देशभर तीव्र रूपमा निर्माण गरेको झोलुङ्गे पुलले दुर्गम पहाडी जिल्लाका स्थानीय बासिन्दालाई सेवा केन्द्रसम्म पुग्न सहज भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स