29 C
Kathmandu
Friday, August 15, 2025
spot_img

थोरै सन्तान जन्माउने र विदेश बसाइले जनसंख्या वृद्धिदर घटायो

काठमाडौं। राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजाअनुसार नेपालमा एउटा परिवारमा औसतमा ४.३२ जना रहेका छन् । यस्तो संख्या २०६८ सालमा ४.८८ जना रहेको थियो । धेरै बच्चा जन्माइने मधेश प्रदेशमा २०६८ सालमा एउटा परिवारमा औसतमा ५.८० जना सदस्य रहेका थिए । २०७८ को प्रारम्भिक नतिजामा त्यहाँ पनि परिवारको आकार घटेर औसत ५.१५ जनामा झरेको छ ।

कर्णालीमा २०६८ सालमा एउटा परिवारमा ५।४३ जना सदस्य रहेकामा २०७८ मा ४.६२ मा झरेको छ । यसले धेरै बच्चा जन्माउने प्रवृत्तिमा कमी आएको पुष्टि गर्ने केन्द्रीय तथ्यांक विभागको ठहर छ । २०६८ को जनगणनामा भन्दा २०७८ मा नेपालको जनसंख्या करिब २७ लाखले बढेको छ । यसको अर्थ नेपालमा एक वर्षमा करिब २ लाख ७० हजार जनसंख्या थप हुन्छ । २०६८ सालमा जनसंख्याको वृद्धिदर १.३५ प्रतशित थियो, तर अहिले ०.९३ प्रतिशतमा झरेको छ ।

२०६८ सालकै वृद्धिदर कायम रहेको भए २०७८ सालको जनसंख्या ३ करोड भन्दा बढी हुने थियो । तर, राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजाले त्यस्तो देखाएन । जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४ सय ८० मै सीमित रहृयो । त्रिभुवन विश्वविद्यालय जनसंख्या विभागका प्राध्यापक महेन्द्रप्रसाद शर्माका अनुसार २०६८ सालकै दरमा जनसंख्या बढेको भए सालाखाला ५१ वर्षमा जनसंख्या दोब्बर हुने थियो । तर, २०७८ को जनसंख्या वृद्धिदर ०.९३ मा झरेकाले जनसंख्या दोब्बर हुन ७५ वर्ष लाग्नेछ ।

केन्द्रीय तथ्यांक विभागका निर्देशक ढुण्डीराज लामिछानेका अनुसार २०६८ सालमा एक महिलाले औसतमा ३ जीवित बच्चा जन्माउने गरेकी थिइन् । तर, सन् २०१९ मा गरिएको बहुसूचक सर्वेक्षणले १५ देखि ४९ वर्ष उमेर समूहका महिलाले २ जनामात्र जीवित बच्चा जन्माएको पाइएको छ । अझ शहरी क्षेत्रमा यो संख्या अझ कम छ । लामिछानेका अनुसार काठमाडौं उपत्यकामा एक महिलाबाट औसतमा एक जनाभन्दा पनि कम बच्चा जन्मिएको तथ्यांक सो सर्वेक्षणबाट आएको थियो । सोही सर्वेक्षणसँग मेल खानेगरी यस पटक जनसंख्या वृद्धिदर पनि व्यापक घटेको विभागले बताएको छ ।

तथ्यांक विभागका निर्देशक लामिछाने जनसंख्याको वृद्धिदर कम घट्नुमा अन्तर्राष्ट्रिय बसाइसराइले प्रमुख भूमिका निर्वाह गरेको छ । २०६८ सालको तुलनामा २०७८ सालमा पुरुष मात्र नभई महिला विदेशिने क्रम पनि बढेको छ । २०७८ मा विदेशिने महिलाको संख्या ७१.०९ प्रतिशतले बढेको छ । यसरी विदेशिने महिला प्रजनन क्षमता बढी हुने उमेरकै छन् । जसले गर्दा नेपालमा बच्चा जन्मने दर कम हुने निर्देशक लामिछाने बताउँछन् ।

तथ्यांकअनुसार २०६८ सालमा २ लाख ३७ हजार ४ सय महिला विदेशमा बसोबास गरेकामा २०७८ मा यो बढेर ४ लाख ६ हजार १ सय ३ पुगेको छ । २०६८ सालमा १६ लाख ८४ हजार २९ जना पुरुष विदेशमा बसोबास गर्ने गरेकामा अहिले बढेर १७ लाख ६३ हजार ३ सय १५ जना पुगेको छ ।

जनगणनाको प्रारम्भिक नतिजाअनुसार अहिले २१ लाख ६९ हजार नेपालीहरु अक्सर देशबाहिर नै बस्छन् । नेपालमा सक्रिय जनसंख्या बालबालिका र वृद्धवृद्धाको तुलनामा धेरै रहेको प्राध्यापक शर्मा बताउँछन् । करिब ५३.५४ प्रतिशत सक्रिय जनशक्ति रहेको अनुमान छ ।

कम बच्चा जन्माउने चलन

त्रिभुवन विश्वविद्यालयको जनसंख्या विभागका अर्का प्राध्यापक डा. योगेन्द्रबहादुर गुरुङ जनसंख्या वृद्धिदर खस्किनु अपेक्षित नै भएको बताउँछन् । भारत र बंगलादेश जस्ता देशमा पनि पनि जनसंख्या वृद्धिदर एक प्रतिशतभन्दा कम भइसकेको उनको भनाइ छ । अहिले धेरै बच्चा जन्माउन नचाहने दम्पत्तिको संख्या अधिक हुनुमा शिक्षा, स्वास्थ्य, स्याहारमा लाग्ने ठूलो खर्च कारकमा रुपमा रहेको विज्ञहरुको विश्लेषण छ ।

बाल बच्चा हुर्काउन खर्च लाग्नेदेखि उनीहरुसँग बिताउन अभिभावकसँग पर्याप्त समय नहुनेसम्मका कारणले व्यवस्थापन गर्न सम्भव हुने संख्यामा मात्रै बच्चा जन्माउनतर्फ लागेको डा. गुरुङ बताउँछन् । नेपालमा १० वर्षको अवधिमा २७ लाख जनसंख्या बढ्दा परिवार संख्या भने १३ लाख ३३ हजार ५ सय ५७ ले बढेको छ । एकल परिवारमा बालबालिकाको स्याहार-सुसार गर्न संयुक्त परिवारमा जस्तो सहज अवस्था हुँदैन । यसको प्रभावले कम बच्चा जन्माउने परिपाटीलाई प्रोत्साहन गरेको तथ्यांक विभागको पनि ठहर छ ।

सन्तान उत्पादनको दर कम हुँदा सकारात्मक तथा नकारात्मक दुबै प्रकारको प्रभाव पार्ने अर्थविद केशव आचार्य बताउँछन् । ‘कम सन्तान हुँदा अबका बालबालिकाले राम्रो शिक्षा, राम्रो हेरविचार पाउँछन्, तर यसकै कारण भविष्यमा उत्पादनमा सक्रिय हुनसक्ने श्रमशक्ति कम हुन्छ,’ उनी भन्छन् । सक्रिय जनशक्ति कम हुँदा चीनमा जस्तो समस्या देखिन सक्ने सम्भावना हुने उनी बताउँछन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स