काठमाडौं । कोभिड १९को नयाँ भेरियन्टको संक्रमण बढेसँगै यसलाई नियन्त्रणका लागि काठमाडौं उपत्यकाको सवारी साधनमा जोरबिजोर प्रणाली लागू गरिएको छ । जोरबिजोर प्रणाली लागू भएसँगै यो प्रणालीको तीव्र आलोचना भइरहेको छ ।
जोरबिजोर प्रणालीले सार्वजनिक यातायातमा यात्रा गर्ने सर्वसाधारणलाई समस्यामा पारेको र यसले थप संक्रमण फैलाउने जोखिम बढेको उनीहरुको अनुभव छ । दैनिक सार्वजनिक यातायातमा यात्रा गरेर कार्यलय आउजाउ गरिरहेकी कुपण्डोलकी कल्पना शाक्यले अहिले समयमा गाडी नपाउने र पाएको गाडीमा पनि भिडभाडबीच जानुपर्ने बाध्यता भएको सुनाउँछिन् ।
सार्वजनिक यातायातमा नै दैनिक यात्रा गर्ने वर्गको लागि जोर बिजोर प्रणाली थप कष्टकर बनेको छ । गाडीमा सिटको लागि दौड्नुपर्ने मात्रै नभएर भीडभाडमा बस्दा संक्रमण सर्ने डरका बीच यात्रा गर्नु परिरहेको उनीहरुको अनुभव छ । सार्वजनिक यातायातमा यात्रा गर्ने अधिकांश निम्न वर्गका हुने र ती वर्गको सुरक्षाको लागि सरकारले कहिल्यै नसोच्ने गुनासो आउने गरेको छ ।