22 C
Kathmandu
Sunday, August 17, 2025
spot_img

सेवा लिन खोप कार्ड अनिवार्य गरेसँगै स्याङ्जामा खोप लगाउने बढे

स्याङ्जा । स्याङ्जा जिल्लास्थित सेवा प्रदायक निकायमा आउने सेवाग्राहीलाई खोप कार्ड अनिवार्य गरेसँगै जिल्लामा खोप लगाउनेहरुको संख्या बढेको छ । जिल्लाका सबै स्वास्थ्य संस्थाहरुमा दुई दिन खोप अभियान सञ्चालन गरिएकामा अहिले तीनवटा स्वास्थ्य संस्थामा नियमित खोप अभियान जारी राखिएको स्वास्थ्य कार्यालयकी प्रमुख बसुन्धरा शर्माले जानकारी दिए । अहिले जिल्लावासीलाई पायक पर्ने गरी गल्याङ नगर अस्पताल, गह्रौं प्राथमिक अस्पताल वालिङ र शहरी स्वास्थ्य क्लीनिक पुतली बजार– १ मा नियमित खोप लगाउने ब्यवस्था गरिएको उनले बताए ।

सेवाग्राहीलाई खोप कार्ड अनिवार्यसम्बन्धी सूचना पाए लगत्तै पहिला नलगाएका मानिस पनि खोप लगाउन स्वास्थ्य संस्थाहरुमा आउनेक्रम तुलनात्मकरुपमा बढेको प्रमुख शर्माको भनाइ छ । खोप लगाउन डराउने, लगाएर के हुन्छ र रु भन्नेहरु अहिले सेवा नै नपाइने हो की भन्ने चिन्ताले पहिलो मात्रा खोप लगाउन अस्पताल आउने गरेका वालिङ नगरपालिकाका स्वास्थ्य शाखाप्रमुख कमलप्रसाद पाण्डेले बताए । ‘पहिला थोरै सङ्ख्यामा मानिस खोप लगाउन आउँथे’ उनले भने, ‘खोप कार्ड अनिवार्य गरेसँगै अहिले दैनिक एकसयभन्दा धेरै मानिस कोभिड १९ को पहिलो मात्रा लगाउन आइरहेका छन् ।’ गह«ौं प्राथमिक अस्पतालमा अहिले १२ वर्षदेखि माथिका सबैलाई बिदाको दिनबाहेक हरेक दिन पहिलो र दोस्रो मात्रा खोप नियमित लगाईदिने गरिएको उनले जानकारी दिए।

उता गल्याङ नगर अस्पतालमा पनि अहिले दैनिक १०० भन्दा बढी मानिस खोप लगाउन आउने गरेका अस्पताल प्रशासक थानापति न्यौपानेले बताए । ‘खोप लगाउने सकिन लाग्यो भन्ने भएको थियो’, प्रशासक न्यौपानेले भने, ‘तर डराएर नलगाएका, थाहा नपाएर नलगाएका, लगाएर के नै हुन्छ र भन्नेहरु अहिले नगरपालिका तथा अन्य कार्यालयमा सेवा लिन जाँदा नपाइएला भन्ने चिन्तले खोप लगाउन आएका छन् ।’

पहिला नै खोप किन लगाउनु भएन भनेर केहीलाई सोध्दा ‘गाउँतिरै बसिन्छ, बजारतिर खास्सै झरिन्न, यसै चलिराछ र चल्छ भन्ने जस्ता प्रतिक्रिया आउने गरेको थियो’, उनको भनाइ थियोे । कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोनको सङ्क्रमणदर जिल्लामा बढ्दै गएपछि यसको रोकथाम र नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालयले सेवा प्रदायक निकायमा सेवा लिन आउने सेवाग्राहीलाई खोप कार्ड अनिवार्य गर्न निर्देशन दिएको थियो ।

कोभिड–१९ सङ्कट व्यवस्थापन समन्वय केन्द्रको सिफारिस, नेपाल सरकार गृह मनत्रालयको निर्देशन तथा जिल्ला कोभिड–१९ व्यवस्थापन केन्द्रको बैठकको निर्णयसँगै जिल्ला सुरक्षा समितिले गत शुक्रबारदेखि सेवाग्राहीले अनिवार्य कोभिड–१९ विरुद्धको खोप लगाएको प्रमाण हेर्ने गरेको प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले बताए । सेवा प्रदायक निकायमा सेवा लिन आउने सेवाग्राहीलाई खोप कार्ड अनिवार्य गरिएसँगै खोप अभियान थप प्रभावकारी भएको उनको भनाइ छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स