काठमाडौँ । यस वर्षको माध्यमिक शिक्षा परीक्षा एसईई आगामी वैशाखमा सञ्चालन हुने भएको छ । माघको पहिलो साता बित्दासम्म पनि परीक्षा तालिका सार्वजनिक नहुनु र व्यवस्थापिका संसद्अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिले एसईई खारेज गर्नुपर्ने धारणा राखेकाले यति बेला विद्यार्थी, शिक्षक तथा अभिभावक एसईई हुने वा नहुने कुराले निकै तनावमा छन् । राष्ट्रिय परीक्षा बोर्डले भने परीक्षा सञ्चालन हुने स्पष्ट पारेको छ ।
बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले आगामी वैशाखको सुरुमा परीक्षा सञ्चालन हुने र सोका लागि परीक्षा तालिका केही दिनभित्र सार्वजनिक गरिने जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “परीक्षाका विषयलाई लिएर दोधारको स्थितिमा रहनु पर्दैन, परीक्षा हुन्छ । विद्यार्थी अहिलेदेखि नै परीक्षाको तयारीमा जुट्दा हुन्छ ।” उहाँले वैशाखमा परीक्षा सञ्चालन गरिए पनि कक्षा ११ को नयाँ शैक्षिक सत्रसम्बन्धी क्यालेन्डरमा कुनै असर नपर्ने गरी नतिजा प्रकाशन गरिने बताउनुभयो । आगामी चैतमा शिक्षक सेवा आयोगले स्थायी शिक्षक पदका लागि लिखित परीक्षा सञ्चालन गर्न लागेकाले पनि सो महिनामा एसईई सञ्चालन गर्न समस्या देखिएको हो ।
“शिक्षकको परीक्षाले सामान्य असर गर्न सक्छ तर त्योभन्दा पनि विद्यार्थीको पढाइ पूरा नभएको गुनासा आएकाले वैशाखमा परीक्षा सञ्चालन गर्न लागिएको हो” उहाँले भन्नुभयो, “सुगम स्थानका विद्यार्थीले अनलाइनबाट पनि पठनपाठन गरे तर दुर्गमका र अनलाइनको पहुँच नभएकाको कोर्स नसकिएको रिपोर्टिङ भएको छ । भदौबाट मात्र पढाइ राम्ररी सञ्चालन भएकाले उनीहरूले कोर्स सक्न पर्याप्त समय पाएका छैनन् ।”
विगतमा मङ्सिरमा परीक्षा तालिका सार्वजनिक गर्ने प्रचलन थियो भने चैतमा परीक्षा सञ्चालन गरिन्थ्यो । कोभिड–१९ का कारण गएका दुई वर्षमा बोर्डले परीक्षा सञ्चालन गर्नु परेन । विद्यालयले गरेको मूल्याङ्कनका आधारमा विद्यार्थीलाई प्रमाणपत्र उपलब्ध गराइएको थियो । परीक्षा हुन नसक्दा २०७६ सालको एसईईको प्रश्नपत्र जलाइएका थिए भने २०७७ सालको एसईईको प्रश्नपत्रलाई बोर्डअन्तर्गतको परीक्षा नियन्त्रण कार्यालय (सानोठिमी)मा अझै सुरक्षित राखिएको छ । गत वर्षकै प्रश्नपत्रलाई यस पटक पुनः प्रयोग गर्नका लागि भनेर सुरक्षित राखिए पनि त्यसबारेमा निर्णय भइसकेको छैन ।
नेपालको विद्यालय संरचनासम्बन्धी भएको प्रावधानमा कक्षा १० को वार्षिक परीक्षा प्रदेशस्तरमा सञ्चालन हुने भन्ने रहेको छ । संसद्को शिक्षा तथा स्वास्थ्य समितिले एसईई खारेज गर्नुपर्ने धारणा राखे पनि शिक्षा निकायले त्यसप्रति ठाडो असहमति जनाएको छ । बोर्डका अध्यक्ष डा. शर्माले कक्षा १२ को परीक्षा आगामी जेठ महिनामा सञ्चालन हुने जानकारी दिनुभयो । कक्षा ११ को परीक्षा विद्यालय आफैँले सञ्चालन गर्नेछन् ।