सिन्धुलीमाढी । सिन्धुली जिल्लामा नौवटा पालिकाका सबै वडा सडक सञ्जालमा जोडिएका छन् । जिल्लाका दुर्गम क्षेत्रमा रहेको तीनपाटन, घ्याङलेख, हरिहरपुरगढी र फिक्कल गाउँपालिकाका सबै वडा सडक सञ्जालले जोडिएको स्थानीय तहले जनाएका छन् । स्थानीय सरकार, प्रदेश सरकार र सङ्घीय सरकारको सहयोगमा सडक निर्माणले तीव्रता पाएको छ । नौवटा स्थानीय तहका ७९ वडामा सडक पुगेको छ ।
तीनपाटन गाउँपालिकाका अध्यक्ष कर्णबहादुर थापामगर उक्त पालिकाका सबै ११ वटै वडा सडक सञ्जालले जोडिएको बताउनुहुन्छ । “सबै वडाको वडा कार्यालयसम्म सडक पु¥याएका छौँ,” उहाँले भन्नुभयो, “जिल्ला सदरमुकाम सिन्धुलीमाढीदेखि पालिकाको केन्द्र रहेको चकमकेसम्मको ४२ किलोमिटर लामो सडक स्तरोन्नतिसहित कालोपत्रे गर्ने कार्य भइरहेको छ । ”
गैरीदेखि चकमकेसम्मको २३ किलोमिटर लामो सडक कालोपत्रेसहित निर्माणका लागि सङ्घीय सरकार, बागमती प्रदेश सरकार र तीनपाटन गाउँपालिकाबीच त्रिपक्षीय सम्झौता भई बोलपत्र आह्वानको प्रक्रियामा रहेको उहाँले सुनाउनुभयो । उहाँका अनुसार भीमस्थान गैरी–चकमके सडक निर्माणका लागि सङ्घीय सरकारले ७५ प्रतिशत, बागमती प्रदेश सरकारले १० प्रतिशत र गाउँपालिकाले १५ प्रतिशत बजेट बेहोर्ने भएको छ । उक्त सडक निर्माणका लागि डीपीआर तयार भइसकेको र चाँडै नै बोलपत्र आह्वान गरिने उहाँले बताउनुभयो ।
दुधौली नगरपालिकाको वडा नं। ३ र ६ पनि कालोपत्रेसहितको सडक सञ्जालले जोडिएको छ । एसियाली विकास बैङ्कको सहयोगमा दुधौली नगरपालिका–३ को झुङ्गा–५ को जगाडीलाई जोड्ने साढे १२ किलोमिटर लामो सडक चालू आर्थिक वर्षमा कालोपत्रेसहित निर्माण भएको स्थानीय शिक्षक वासु कोइरालाले बताउनुभयो ।
दुधौली नगरपालिकाका प्रमुख घनश्याम राउत स्थानीय सरकार बनेपछि सबै वडामा सडक पु¥याएको बताउनुहुन्छ । उक्त नगरपालिकाका १४ वटै वडामा सडक पुगेको र मदन भण्डारी राजमार्गसँग धेरै वडा जोडिएको उहाँको भनाइ छ । तीन तहका सरकारले कालोपत्रे सडकसमेत निर्माण गरेका छन् । कमलामाई नगरपालिका–१० का वडाध्यक्ष रामहरि ढुङ्गेलले अहिले डाँडाटोलदेखि सानागाउँसम्म ४०० मिटर सडक धमाधम कालोपत्रे भइरहेको सुनाउनुहुन्छ ।
कमलामाई नगरपालिका र बागमती प्रदेश सरकारको समपूरक बजेटअन्तर्गत एक करोड रुपियाँको लागतमा निर्माण भइरहेको छ । स्थानीय तहमा जनप्रतिनिधि आएसँगै गाउँगाउँमा मोटरबाटो पुगेको उहाँको भनाइ छ । वडाध्यक्ष ढुङ्गेलले भन्नुभयो, “वडावडामा निर्माण भइरहेका सडकका कारण स्थानीय किसानलाई उत्पादन बेचबिखनमा समेत निकै सजिलो भएको छ ।”