चरीकोट । दोलखाको भीमेश्वर नगरपालिका–१, सुस्पाक्षमावतीमा स्वास्थ्य चौकी निर्माण भएको छ । जिल्ला आयोजना कार्यान्वयन एकाइ भवनमार्फत वडा नम्बर एक करोड पचास लाख रुपियाँभन्दा बढीको लागतमा सुविधासम्पन्न स्वास्थ्य चौकी निर्माण सम्पन्न भएको हो ।
बर्थिङ सेन्टरका लागि आवश्यक पूर्वाधारसहितको स्वास्थ्य चौकी निर्माण सम्पन्न भई हस्तान्तरण भएको जिल्ला आयोजना कार्यान्वयन एकाइ भवनका डिभिजन इन्जिनियर अर्जुन तामाङले जानकारी दिनुभयो । उहाँका अनुसार स्वास्थ्य चौकी निर्माणका लागि २०७६ साल असारमा १५ महिनामा काम सम्पन्न गर्ने गरी ठेक्का लगाइएकोमा समयमा पूरा नभएपछि म्याद थप गरिएको थियो ।
वडा नं. १ का वडाध्यक्ष वीरबहादुर थामीले भन्नुभयो, सबै पूर्वाधार निर्माण भइसकेकाले अब छिट्टै बर्थिङ सेन्टर सञ्चालनमा आउनेछ । यसअघि जस्ताले बनेको टहरोमा स्वास्थ्य चौकी सञ्चालन भइरहेको थियो । स्वास्थ्य चौकी निर्माणका लागि स्थानीय नवराज शिवाकोटीले आफ्ना स्वर्गीय बुवा सदानन्द शिवाकोटी तथा आमाहरू काशिरूपा शिवाकोटी, मानकुमारी शिवाकोटी तथा चन्द्रकुमारी शिवाकोटीको सम्झनामा एक रोपनी जग्गा स्वास्थ्य चोकीका नाममा दान गर्नुभएको छ ।
यस्तै स्थानीय केशवप्रसाद शिवाकोटी, दीपकराज शिवाकोटी, सरस्वती शिवाकोटी तथा शिवहरि शिवाकोटीले संयुक्त रूपमा आफ्ना स्वर्गीय बुवा रामप्रसाद शिवाकोटी तथा आमा धनकुमारी शिवाकोटीको नाममा दुई रोपनी जग्गा स्वास्थ्य चौकीलाई दान गर्नुभएको थियो ।