22 C
Kathmandu
Sunday, August 17, 2025
spot_img

तीनै तहको निर्वाचन शान्तिपूर्ण हुन्छ: प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी एक वर्षभित्र सम्पन्न हुने तीन तहका निर्वाचन शान्तिपूर्ण, निष्पक्ष र स्वतन्त्र हुने बताउनुभएको छ । सशस्त्र प्रहरी बलको २१औँ स्थापना दिवसका अवसरमा आइतबार उहाँले तीनै तहका निर्वाचन शान्तिपूर्ण र भयरहित बनाउन सरकार लागिरहेको बताउनुभयो ।

प्रधानमन्त्री देउवाले भन्नुभयो, “सरकारको यो निर्वाचन अभियानलाई सफल पार्न सशस्त्र प्रहरीको अहं भूमिका छ, सशस्त्र प्रहरी सङ्गठनप्रति आमनागरिकको भरोसा पनि रहेको छ ।” आमनागरिकको जीउधनको सुरक्षा र मुलुकमा शान्ति अमनचयन कायम गर्नु नै सरकारको पहिलो प्राथमिकता भएको बताउनुहुँदै उहाँले नागरिकलाई सुरक्षाको प्रत्याभूति गरी जीउधनको रक्षाका लागि अहोरात्र खटेर काम गर्र्न सबै सुरक्षा निकायलाई निर्देशन दिनुभयो ।

“सशस्त्र प्रहरीले मुलुकको शान्ति सुरक्षा, अमनचयनमा महìवपूर्ण भूमिका खेलेको छ, आगामी दिनमा अझै सशक्त ढङ्गले काम गरोस् भन्ने जनअपेक्षा रहेको छ । सशस्त्र प्रहरीसहित अन्य सबै सुरक्षा निकायले प्रभावकारी रूपमा काम गर्न जरुरी छ”, उहाँले भन्नुभयो । आमनागरिकको स्वतन्त्र र शान्तिपूर्ण तरिकाले बाँच्न पाउने अधिकारको रक्षाका लागि सरकारका सबै अङ्ग लाग्नुपर्ने बताउनुहुँदै प्रधानमन्त्री देउवाले भन्नुभयो, “सुरक्षाको अनुभूति सर्वसाधारणले गर्न सक्नुपर्छ । त्यसका लागि सबै सुरक्षा निकाय उत्तिकै जिम्मेवार हुनुपर्छ ।”

तत्कालीन अवस्थामा आफू नेतृत्वमा भएका बेला सशस्त्र प्रहरी बलको स्थापना गरिएको स्मरण गर्नुहुँदै उहाँले भन्नुभयो, “विशिष्ट अवस्थामा स्थापना भएको यो प्रहरी सङ्गठनले स्थापनाकालदेखि हालसम्म निरन्तर रूपमा नेपाली जनतालाई विश्वास र भरोसायोग्य काम गरेको छ ।” सो अवसरमा प्रधानमन्त्री देउवाले प्राकृतिक विपत्ति तथा प्रकोप, कोरोनाजस्ता महामारीलाई नियन्त्रण र व्यवस्थापन गर्नमा सशस्त्र प्रहरीले अग्रपङ्क्तिमा रहेर खेलेको भूमिकाको सराहना गर्नुभयो ।

कार्यक्रममा गृहमन्त्री बालकृष्ण खाणले नेपालको राष्ट्रियता जोगाउन सशस्त्र प्रहरी बलले सीमा क्षेत्रदेखि लिएर आन्तरिक सुरक्षा व्यवस्थापनमा पुर्याएको योगदान कदरयोग्य भएको बताउनुभयो । यसैगरी सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनालले राष्ट्र, राष्ट्रियता र जीउधनको रक्षा र सुरक्षाका लागि राज्यले दिएको जिम्मेवारी अझ सशक्त ढङ्गले निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । सीमित स्रोत र साधनको बाध्यतामा पनि अनेकौँ चुनौतीको सामना गर्न सशस्त्र प्रहरी बल सफल भएको बताउँदै उहाँले सीमा सुरक्षा, सीमा नाकामा हुने अवैध सामानको ओसारपसारलगायतका गतिविधिलाई नियन्त्रण गर्न सफल भए पनि सङ्गठनले गर्नुपर्ने धेरै काम बाँकी रहेको बताउनुभयो ।

कार्यक्रममा प्रधानमन्त्री देउवाले यस वर्ष उत्कृष्ट बाहिनीको रूपमा मधेस प्रदेशअन्तर्गतको बाहिनी नम्बर २ छिन्नमस्तालाई पुरस्कार प्रदान गर्नुका साथै सशस्त्र प्रहरीको गीत तथा स्मारिका पनि लोकार्पण गर्नुभयो । मुलुकमा माओवादी द्वन्द्व चर्किरहेका बेला वि।सं। २०५७ मा स्थापना भएको सशस्त्र प्रहरी बलले हाल सीमा सुरक्षा तथा आन्तरिक सुरक्षाको व्यवस्थापन गर्दै आइरहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स