22.6 C
Kathmandu
Thursday, August 14, 2025
spot_img

बालमैत्री नगर घोषणा गर्ने चाँगुनारायण नगरपालिकाको तयारि

भक्तपुर । चाँगुनारायण नगरपालिकालाई आगामी फागुन २७ गते बालमैत्री नगरपालिका घोषणा गर्ने भएको छ । नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्रले फागुन २७ गते बालमैत्री नगरपालिका घोषणा गर्ने निर्णय भएको जानकारी दिए ।

बालमैत्री स्थानीय शासन लागू गर्नका लागि चालू आव २०७८र०८९ का लागि नगरपालिकाले ९८ लाखको बजेट विनियोजन गरी नौवटै वडामा बालक्लब गठन, बाल सञ्जाल गठन, घरधुरी सर्वेक्षण, बालमैत्री विद्यालयलगायत सरकारले निर्धारण गरेको ५१ वटा सूचक प्राप्तिका लागि प्रत्येक वडामा काम तीव्र पारेको छ ।

नगरपालिकाले बालबालिकामा लगानी पहिलो प्राथमिकतामा राख्दै बालमैत्री नगरपालिका बनाउने घोषणा गरेको छ’, नगर प्रमुख मिश्रले भने, ‘विकास भनेको बाटो, खानेपानी, भवन निर्माण मात्रै होइन, उद्यमशीलता, रोजगारी, शिक्षा, स्वास्थ्य, पर्यटनको विकास पनि हो, त्यसैले मान्छेको चेतनाको विकास पनि अहिलेको आवश्यकता हो ।’

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद चापागाईंले २०६८ बाटै नेपाल सरकारले बालमैत्री स्थानीय शासनको अवलम्बन गर्ने कार्यक्रम ल्याएको भन्दै चाँगुनारायण नगरपालिकाले सबै सूचक प्राप्तिका लागि समितिले तयारी तीव्र पारेको बताए । नगरपालिकाको यो कामलाई समुदायले साथ दिँदै भित्रैदेखि अपनत्व ग्रहण गर्नसके मात्रै दिगो र सफल हुने भन्दै उनले नगरपालिकाभित्रका इँटा भट्टामा रहेका बालबालिकाको समस्या सुधार गर्दै वडा र जिम्मेवारी लिएका कर्मचारीले छिटो काम सम्पन्न गर्नसकेमा तोकिएको मितिमा घोषणा गर्न सकिने बताए ।

सबै वडामा वडाध्यक्ष नै समितिकोे अध्यक्ष रहेको १५ सदस्यीय बालमैत्री स्थानीय शासन वडा समिति गठन गरेर समितिलाई प्रशिक्षण दिइने, तथ्याङ्क सङ्कलन गर्ने, प्रोफाइल तयार पार्ने, बालमैत्री पार्क निर्माण गर्नेलगायतका काम भइरहेका छन् । नीतिगत कार्यान्वनका लागि अवलम्बन तथा घोषणासम्बन्धी वडास्तरीय अभिमुखीकरण, बालमैत्री वडा सहजकर्ताको नियुक्ति, बालमैत्री सहजकर्तालाई पटकपटक क्षमता विकास प्रशिक्षण दिनुका साथै सूचकप्राप्तिका लागि आवश्यक कार्य भइरहेको छ । पालिकाले वडास्तरीय बालमैत्री स्थानीय शासनसम्बन्धी नीति तथा घोषणाको अभिमुखीकरण तालिम सबै वडामा दिइसकेको छ भने बालमैत्री स्थानीय निकाय हुन तयार पार्नुपर्ने ५१ वटा सूचकाङ्कका लागि वडा वडामा कार्यक्रम गरिरहेको नगरप्रमुख मिश्रले जानकारी दिए ।

नगरपालिकाका अनुसार बालमैत्री स्थानीय शासन कार्यान्वयन घोषणा र दिगोपनाका लागि हालसम्म २६२ बाल समूह र १० बाल सञ्जाल गठन गरिसकेको छ । यसैगरी सबै वडामा बालमैत्री कक्ष व्यवस्थापन गरी ३०० सार्वजनिकस्थलमा बालमैत्री आचारसंहिता, सावधान बोर्ड, बालश्रमविरुद्धको पम्प्लेट एवं बोर्ड राख्ने काम सम्पन्न भइसकेको छ । यसअघि यो नगरपालिका पूर्ण खोप, पूर्ण साक्षरता र पूर्ण सरसफाइयुक्त नगरपालिका घोषणा भइसकेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स