23.3 C
Kathmandu
Tuesday, August 12, 2025
spot_img

कोरोना सङ्क्रमण दर बढेसँगै सीमा नाकामा उच्च सतर्कता

काठमाडौँ । नेपालमा कोरोना भाइरसको सङ्क्रमण दर बढेसँगै अन्तरदेशीय सीमा नाकामा स्वास्थ्य सुरक्षा जाँच कडा पारिएको छ । भारततर्फका प्रायः नाकामा सुरक्षा जाँच कडा पारिएका छन् । चीनतर्फका सीमा नाकाबाट केही मालवाहक कन्टेनर भित्रिनेबाहेक मानिसको आवतजावत बन्द छ ।

प्रदेश २ का महोत्तरीको जलेश्वर भिठ्ठामोड, पर्साको वीरगञ्ज, रौतहटको गौर, सिरहाको माडर र औरहीस्थित नाकामा हेल्पडेस्क स्थापना गरी नेपाल प्रवेश गर्नेहरूको स्वास्थ्य परीक्षण सुरु गरिएको छ । त्यस्तै, लुम्बिनी प्रदेशका महेशपुर, रुपन्देहीको बेलहिया, कपिलवस्तुको कृष्णनगर र नेपालगञ्जको जमुनाहा नाकामा हेल्प डेस्कमार्फत एन्टिजेन परीक्षण थालिएको छ ।

प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राई, आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्की, सामाजिक विकासमन्त्री जयराम यादवसहितको टोलीले बिहीबार विराटनगर–१६ स्थित निर्माणाधीन होल्डिङ सेन्टर र जोगबनी नाकाको स्वास्थ्य सुरक्षा र परीक्षणको अवस्था अनुगमन गरेको थियो । भारतसँगका सीमा नाकाहरू पशुपतिनगर, काँकडभिट्टा, भद्रपुर र विराटनगरको जोगबनी नाकामा स्वास्थ्य सुरक्षा जाँच कडा गरिएको छ । त्यस्तै, चीनतर्फका ओलाङ्चुङगोला र किमाथाङ्का नाका बन्द अवस्थामा छन् ।

यसैगरी, सुदूरपश्चिम प्रदेशका गौरीफन्टा, गड्डाचौकी, झुलाघाट र पुलघाट नाकाबाट स्वदेश फर्कनेको सङ्ख्या दिनहुँ बढिरहेको छ । सो नाकाबाट नेपाल प्रवेश गर्नेहरूमा कोरोना पोजेटिभ पाइएपछि स्वास्थ्य जाँचलाई थप कडा पारिएको जनाइएको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार बबई नाकामा हेल्थ डेस्क स्थापना गर्ने तयारी थालिएको छ । स्वास्थ्य सेवा निर्देशक डा. रविन खड्काले कर्णाली प्रदेशले भारतीय सीमा नभेटे पनि भारतबाट कर्णाली भित्रिनेको सङ्ख्या धेरै भएकाले प्रदेश प्रवेश नाकामा उच्च स्वास्थ्य सतर्कता अपनाइएको बताउनुभयो ।

कोरोना सङ्क्रमण सुरु भएदेखि नै नेपालको उत्तरी छिमेकी चीनसँगको सीमा प्रायः बन्द अवस्थामा छन् । रसुवाका प्रमुख जिल्ला अधिकारी नवराज जैसीका अनुसार, रसुवागढी नाका एकतर्फी मात्र सञ्चालनमा रहेको छ । सो नाकाबाट लामो समयदेखि सर्वसाधारणको आवतजावत भएको छैन । चीनबाट सामान लिएर आउने सवारीसाधनलाई निर्मलीकरण गरेर मात्र नेपाल भित्र्याइने गरिएको छ ।

नेपाल–भारत सीमा नाका तथा खुला सीमा क्षेत्रमा सुरक्षा जाँचलाई कडाइ गरिएको छ । सुरक्षाका लागि नाकामा नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्वास्थ्यकर्मी खटिएका छन् तर आइसोलेसन होल्डिङ सेन्टर नहुँदा सङ्क्रमितलाई भने परामर्श र सुरक्षाका सामान्य सामग्री दिएर होम क्वारेन्टाइन पठाउने गरिएको छ ।

कोरोना भाइरस सङ्क्रमण बढ्न थालेपछि तातोपानी नाकामा स्वास्थ्य सुरक्षासम्बन्धी उच्च सतर्कता अपनाउन थालिएको छ । तातोपानी सुक्खा बन्दरगाह भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत नारद गौतमले चीनको तिब्बत हुँदै नेपाल भित्रिने मालवाहक कन्टेनरलाई मितेरी पुलबाटै निर्मलीकरण गरिने जानकारी दिनुभयो । उहाँले खासाबाट भित्रिने कन्टेनरका सामान मितेरी पुलबाटै २४ घण्टाभन्दा बढी समय क्वारेन्टाइनमा राखेर भन्सार कार्यालय ल्याइने गरेको बताउनुभयो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स