26.7 C
Kathmandu
Friday, August 15, 2025
spot_img

स्थानीय सरकारसँग समन्वय नहुँदा लक्ष्यअनुसार खोप लगाउन मुश्किल

काठमाडौं । सरकारले गत सोमबार पाँच लाख ६८ हजार ३१९ जनालाई कोरोनाविरुद्धको खोप लगाउँदा प्रधानमन्त्री शेरबहादुर देउवाले बढी खोप लगाएकोमा बधाई दिनुभएको थियो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सोही दिन उत्साहित हुँदै सूचना निकाली १५ दिनसम्म हरेक दिन पाँच लाख जनालाई कोरोनाविरुद्धको खोप लगाउने लक्ष्य सार्वजनिक गरेको थियो ।

सरकारले पुसभित्र ६६ प्रतिशत जनसङ्ख्यालाई खोप लगाउनलाई उक्त सूचना जारी गरेको हो । सरकारले पाँच लाख कोरोनाको खोप लगाउने सूचना सार्वजनिक गरेपछि आजसम्म लक्ष्य अनुसार खोप लगाउन सकेको छैन । मन्त्रालयको तथ्याङ्कानुसार गत मङ्गलबार दुई लाख ८३ हजार २६५, बुधबार दुई लाख, दुई हजार ६८७, बिहीबार ५६ हजार ११२ जनालाई कोरोना विरुद्धको खोप लगाएका छन् ।

त्यस्तै, शुक्रबार एक लाख ३९ हजार १५२ जनाले र शनिबार २४ घण्टामा ५९ हजार ११२ जनालाई कोरोनाविरुद्धको खोप लगाएको छ। ‘केन्द्रमा खोप पठाइसकेका छौं तर स्थानीय सरकारले राम्रोसँग समन्वय नगर्दा सरकारले लिएको लक्ष्य अनुसार खोप लगाउन सकिएको छैन,’ स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। सङ्गीता मिश्रले गोरखापत्र अनलाइनसँग भन्नुभयो ।

अधिकाशं जिल्लामा एक मात्रा खोप दिएकाले उक्त खोप लगाएकाहरुले चार हप्तादेखि एक महिनासम्म कुर्नुपर्ने भएकाले सरकारको लक्ष्यअनुसार खोप लगाउन नसकेको स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखा बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख सागर दाहालले जानकारी दिनुभयो । ‘सरकारले १५ दिनसम्म दैनिक पाँच लाखलाई कोरोनाविरुद्धको खोप दिने लक्ष्य लिएको छ । तर सरकाले हालसालै अधिकांश जिल्लामा एक मात्रा खोप दिइसकेको र उक्त खोप लगाएकाहरुले चार हप्तादेखि एक महिनासम्म कुर्नुपर्ने भएकोले पनि लक्ष्य अनुसार खोप लगाउन सकिएको छैन ।’ उहाँका अनुसार केन्द्रले सबै पालिकामा खोप पठाइसकेको छ र खोप लगाउन पनि सबै पालिकालाई निर्देशन दिइसकेको छ।

सरकारले लक्षित जनसङ्ख्यामा ७०.५ प्रतिशत एक मात्रा र ५२.१ प्रतिशत खोप पूर्ण मात्रा खोप दिइसकेको छ । कुल जनसङ्ख्यामा एक करोड ४० लाख ३६ हजार ६६१अर्थात् ४६.२ प्रतिशतले एक मात्रा र एक करोड तीन लाख ८४ हजार ८५१ अर्थात ३४.२ प्रतिशतले पूर्णमात्रा खोप लगाएका छन् । सरकारले ५७ जिल्लाका १२ वर्ष देखि १८ वर्ष सम्मका बालबालिकाहरुलाई विद्यालयमा मोडर्ना खोप अभियान सञ्चालन गरेको छ । त्यस्तै, उपत्यकाका तीन जिल्लामा पनि १८ वर्ष माथिका मानिसलाई कोरोना विरुद्धको खोप अभियान सञ्चालन गरिरहेको छ। केही दिनपछि काठमाडौंलगायत आठ जिल्लामा १२ वर्षदेखि १७ वर्ष उमेर समूहका बालबालिकाहरुलाई फाइजर खोप दिने बताएको छ ।

सरकारले चैतभित्र सबै नागरिकलाई कोरोनाविरुद्धको खोप लगाउने लक्ष्य राखेको छ । कुन प्रदेशमा कतिले लगाए खोप परिवार कल्याण महाशाखाको तथ्याङ्क अनुसार लक्षित १८ वर्ष माथिका जनसङ्ख्यामा प्रदेश अनुसार सबैभन्दा बढी गण्डकी प्रदेशमा र सबैभन्दा कम प्रदेश दुईमा कोरोनाविरुद्धको खोप लगाएका छन् । प्रदेश १ मा ६२ प्रतिशतले एक मात्रा र ४८ प्रतिशतले पूर्ण मात्रा खोप लगाएका छन् । प्रदेश २ मा ४९ प्रतिशतले एक मात्रा र ३६ प्रतिशतले पूर्ण मात्रा खोप लगाएका छन् ।

बाग्मती प्रदेशमा ७९ प्रतिशतले एकमा र ७२ प्रतिशतले पूर्णमात्रा खोप लगाएका छन् । गण्डकी प्रदेशमा ८९ प्रतिशतले एकमात्रा र ७२ प्रतिशतले पूर्ण मात्रा खोप लगाएका छन् । लुम्बिनी प्रदेशमा ७८ प्रतिशतले एक मात्रा र ४३ प्रतिशतले पूर्ण मात्रा खोप लगाएका छन् । कर्णाली प्रदेशमा ५६ प्रतिशतले एक मात्रा र ३९ प्रतिशतले पूर्ण मात्रा खोप लगाएका छन् । सुदूरपश्चिम प्रदेशमा ६७ प्रतिशतले एक मात्रा र ४५ प्रतिशतले पूर्ण मात्रा खोप लगाएका छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स