23.2 C
Kathmandu
Saturday, August 16, 2025
spot_img

हेलिप्याडलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भक्तपुर सार्ने तयारि

काठमाडौं। नेपाल नागरिक उड्डयन प्राधिकरणले हेलिप्याडलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भक्तपुर सार्ने भएको छ । प्राधिकरणले रोटर विङ्स ९हेलिकप्टर० उडान अवतरणलाई सहज बनाउन सूर्यविनायक नगरपालिकाको नलिन्चोकमा हेलिप्याड निर्माण गर्न प्रक्रिया अगाडि बढाएको छ । प्राधिकरणको स्वामित्वको सो जग्गामा हाल हवाईजहाजका लागि लोकेटर स्टेसन सञ्चालन भइरहेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान चाप कम गर्न यस्तो गर्न लागिएको बताइएको छ । हेलिकप्टरको उडान तथा सञ्चालन विधि र प्रक्रिया नै फरक भएकाले विमानस्थलबाट छुट्याउनुपर्ने निष्कर्षमा प्राधिकरण पुगेको छ । नलिन्चोकमा ३३ रोपनी जग्गामा सुविधा सम्पन्न हेलिप्याड निर्माणका लागि टेन्डर प्रक्रिया थालिएको छ ।

बहुवर्षीय योजनाअन्तर्गत आगामी वर्षभित्र सञ्चालनमा ल्याइनेछ । कुल ३० करोड रुपियाँको लगानीमा निर्माण गर्न लागिएको उक्त मिनी एयरपोर्टमा हाल नेपाली सेनाले प्रयोग गर्दै आएका चार मेट्रिक टन पारवहन क्षमता भएका ठूला हेलिकप्टर ९एमआई १७० लाई अवतरण गर्न दिइने छैन । निर्माणस्थल बस्तीको बीचमा रहेकाले बढी ध्वनि र हावा फाल्ने हेलिकप्टरलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै उडान तथा अवतरण गर्न दिइनेछ ।

आपत्कालीन तथा उद्धार उडानका हेलिकप्टरलाई समेत विमानस्थलमै अवतरणको अनुमति दिइने प्राधिकरणले जनाएको छ । नलिन्चोकमा पाँचदेखि नौ सिटसम्मका हेलिकप्टरलाई स्थानान्तरण गरिने छ । हेलिकप्टरलाई विमानस्थलबाटै ह्यान्डलिन गर्न सकिनेछ ।

प्राधिकरणका एरोड्रम इन्जिनियरिङ विभागका निर्देशक मुरारी भण्डारीका अनुसार हेलिप्याड निर्माण क्षेत्रमा स्थायी इन्धन ट्याङ्क, फायर फाइटिङ कक्ष, यात्रु प्रतीक्षालय, टर्मिनल भवन, कन्फेक्सरी सप, हेलिकप्टर कम्पनीका लागि कार्यालय र हेलिकप्टर मर्मत सम्भारका लागि ह्याङ्गरसहितको सुविधा हुनेछ ।

उनले भने, “नलिन्चोक हेलिप्याडमा २७ वटा हेलिकप्टर पार्किङ गर्न सक्नेछन् ।” हाल विमानस्थलबाट हेलिकप्टर प्रयोग गर्दा उच्च पदस्थ नेतादेखि दैनिक पर्वतीय उडान तथा मनोरञ्जनात्मक उडानमा जाने यात्रु निजी गाडीमै हेलिप्याडसम्म पुग्ने गरेका छन् । सुरक्षा चेकजाँचसमेत नहुने अहिलेको अवस्थामा नलिन्चोकबाट अपरेसन सुरु भए सुरक्षा चेकजाँच तथा नियमन गर्न सहज हुने उनको भनाइ छ ।

हाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हेलिकप्टरले प्रयोग गर्दै आएको क्षेत्रमा विमानस्थलको गुरुयोजनाअनुसार ह्याङ्गर निर्माणका लागि स्थान विकास गर्न टेन्डर प्रक्रिया सुरु भइसकेको छ । हेलिकप्टरलाई स्थानान्तरण गरेपछि उक्त क्षेत्रमा ह्याङ्गरसम्म पुग्न पहुँचमार्ग निर्माण गरिनेछ भने एयरबस ३३० र एयरबस ३२० सिरिजका ठूला जहाजसहित पाँचवटासम्म जहाजको मर्मत गर्न मिल्ने ह्याङ्गर निर्माण गर्न सकिने प्राधिकरणको अध्ययनले देखाएको छ । उनले हेलिकप्टर कम्पनीलाई भक्तपुरमा स्थानान्तरण गरेपछि विमानस्थलको एयर ट्राफिकको चाप कम हुने बताए । प्राधिकरणको सेफ्टी विभागका अनुसार हाल १० वटा कम्पनीका ३३ वटा हेलिकप्टर दर्ता छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स