काठमाडौं । लक्षित उमेर समूहमा खोप लगाउने लक्ष्यअनुसार सरकारले खोप अभियान चालाइरहेको छ । बुधबार मात्रै पनि देशभर एक लाख ३५ हजार सात सय ९० डोज खोप लगाएको स्वास्थ्य मन्त्रालयको तथ्यांकले देखाउँछ । तर, कोभिड संक्रमणको जोखिम घट्दै गएसँगै खोपप्रतिको चासो पनि घट्दै गएको चिकित्सकले बताएका छन् । मन्त्रालयद्वारा उपलब्ध खोप विवरणअनुसार १२ वर्षभन्दामाथि लक्षित समूहमध्ये अझै २१ लाख ९७ हजार एक सय ८९ जना खोपको पहुँचबाहिर छन् ।
स्वास्थ्य मन्त्रालयको विवरणअनुसार देशभर दुई करोड ३३ लाख २७ हजार ६ सय १९ जना लक्षित समूहभित्र पर्छन् । जसमध्ये ७७.४ प्रतिशत वयस्कले खोपको पूर्ण मात्रा लगाएका छन् भने ९०.९ प्रतिशतले कम्तीमा एक मात्रा लगाएका छन् । यस्तै, लक्षित वर्गभित्र रहेका बालबालिकामध्ये ६५ प्रतिशतले पूर्ण मात्रा र ८८ प्रतिशतले एक मात्रा लगाएको मन्त्रालयको तथ्यांक छ ।
एक करोडभन्दा बढी डोज खोप आउनै बाँकी
खरिद प्रक्रिया, कोभ्याक्स सुविधा र अनुदानमार्फत उपलब्ध खोपमध्ये एक करोड ६ लाख ७४ हजार ६ सय ९६ डोज प्रयोगमा अझै आउन बाँकी छ । हालसम्म उपलब्ध खोप र प्रयोगमा आएको आधारमा एक करोड ७३ लाख १६ हजार चार डोज प्रयोगमा आउन बाँकी छ । तथ्यांकअनुसार ५६ हजारभन्दा बढी डोज खेर गएको छ । खोपको तथ्यांक यकिन नभएपछि भएको छानबिनले ५६ हजार नौ सय आठ डोज खोप खेर गएको देखाएको छ ।
मन्त्रालयका अनुसार बुधबारसम्ममा तीन करोड ७१ लाख २१ हजार एक सय ९६ डोज खोप प्रयोगमा आइसकेको छ । जसमध्ये एक करोड ८३ लाख ९१ हजार एक सय सात डोज खोप पहिलो मात्राका लागि प्रयोग भएको थियो । एक करोड ७७ लाख ८३ हजार एक सय ३३ डोज खोप दोस्रो मात्राका लागि र नौ लाख ४३ हजार नौ सय ५६ अतिरिक्त डोजमा प्रयोग भएको छ । सरकारले यो वर्षको अन्तिमसम्म सम्पूर्ण लक्षित जनसंख्यामा खोप लगाइसक्ने लक्ष्य लिएको छ ।
खोप पर्याप्त भएकाले सरकारले लक्षित जनसंख्याका सबैलाई अतिरिक्त खोप लगाउन खुला गरेको छ । यद्यपि, बुस्टर डोजका लागि पहिले लगाएकै खोपको माग बढी भएकाले बुस्टर खोपको प्रयोग न्यून छ । भाइरोलोजिस्ट डा. सन्तोष दुलालका अनुसार अधिकांश मानिस संक्रमित भइसकेको र संक्रमण उच्च भएको समयमा खोप अभियान व्यवस्थित बनाउन नसकेका कारण बुस्टर डोजको न्यून प्रयोग भएको हो । उनी भन्छन्, ‘अधिकांशमा अझै पनि बुस्टर डोजका लागि कुन खोप लगाउने अन्योल छ । सरकारले बुस्टर डोजका लागि उपलब्ध खोपमध्ये जुनसुकै प्रयोग गर्न सकिने बताए पनि यसको प्रभावकारिताबारे पर्याप्त चेतना नहुँदा खोपमा चासो घट्न थालेको छ ।’
संक्रमणबाट ज्यान गुमाउने अधिकांश खोप नलगाएका
कोभिडका कारण हालसम्म ज्यान गुमाउनेमध्ये समयमै खोपको पहुँचमा नभएका र वृद्धवृद्धा धेरै रहेको स्वास्थ्य मन्त्रालयको तथ्यांकले देखाउँछ । संक्रमण उच्च बिन्दुमा पुगेका वेला खोप अभियान व्यवस्थित रूपमा चल्न नसक्नु र खोपबारे आममानिसमा अझै अन्योल रहेकाले खोपको माग नै कम हुँदै गएको चिकित्सकहरू बताउँछन् ।
बुधबार थप तीन सय १२ जनामा कोभिड संक्रमण पुष्टि भएको छ । देशभर आठ हजार ६ सय ९३ जनाको परीक्षण गरिएको थियो । यस्तै संक्रमणबाट पछिल्लो २४ घन्टामा दुईजनाको मृत्यु भएको छ । संक्रमणदर बिस्तारै घट्दै गएको छ भने सक्रिय संक्रमितको संख्या घटेर १० हजार ९० पुगेको छ । सबैभन्दा बढी संक्रमित रहेको काठमाडौँ जिल्लामा मात्रै दुई हजार एक सय ७३ जना सक्रिय संक्रमित छन् ।
विभागको तथ्यांकअनुसार हाल एक करोड ६ लाख ७८ हजार आठ सय ८६ मात्रा खोप मौज्दात छ । तथ्यांकभन्दा बाहिर पनि धेरैले खोप लगाएकाले खोप अभियान अहिले सुस्ताएको छ ।