26.1 C
Kathmandu
Saturday, July 27, 2024
spot_img

सोलुखुम्बुमा ३ महिनालाई पुग्ने खाद्यान्न मौज्दात, तर अचाक्लि मुल्यबृद्धि भएको गुनासो

काठमाडौं । माथिल्लो सगरमाथाका तीन जिल्लामा तत्काल खाद्यान्न अभाव नहुने सम्बन्धित जिल्लाका उद्योग वाणिज्य सङ्घले जनाएका छन् । सोलुखुम्बु, ओखलढुङ्गा र खोटाङ जिल्लाका उद्योग वाणिज्य सङ्घका अनुसार तीन महिनासम्म पुग्ने खाद्यान्न मौज्दात रहेकोले खाद्यान्न अभावको सम्भावना नरहेको बताएका हुन् ।

कोरोना रोकथाम तथा नियन्त्रणका लागि केही जिल्ला बाहेकमा निषेधाज्ञा जारी गरिएको छ । नागरिकको जीवन रक्षाका लागि निषेधाज्ञा जारी गरिँदा कोरोना सङ्क्रमणबाट बच्न सकिने भए पनि भोकमरीलगायतको समस्या सिर्जना हुने चिन्ता आम नागरिकमा छ ।

उद्योग वाणिज्य सङ्घ ओखलढुङ्गाका अध्यक्ष ज्ञानेन्द्र मास्केका अनुसार जिल्लामा तत्काल खाद्यान्न अभाव हुने छैन । तर, अहिले सो जिल्लामा खाद्यान्नको मुल्य आकासिएको छ ।
नेपाल सरकारलाई कोरोना भाइरसको सम्भावित जोखिम कम गर्दै नेपाली नागरिकको जीवन रक्षा गर्नुपर्ने बाध्यता छ । सोही बाध्यताका कारण नागरिकको जनजीवन पनि प्रभावित बन्ने गरेको छ । सबै जिल्लाले जारी गरेको निषेधाज्ञाको नियम एउटै नहुँदा खाद्यान्नलगायतको सामग्री ढुवानीमा केही असहज भएको व्यवसायीको भनाइ छ ।

छिमेकी जिल्ला खोटाङमा भने एक महिनाका लागि खाद्यान्न मौज्दात रहेको उद्योग वाणिज्य सङ्घ खोटाङका अध्यक्ष उपीन राईको भनाइ छ । कोरोना सङ्क्रमण तीव्र हुने र खाद्यान्न ढुवानी असहज भएमा समस्या हुने उनले बताए ।

यता गत वैशाख २६ गतेदेखि निषेधाज्ञा जारी गरिएको सोलुखुम्बुमा पनि तत्काल खाद्यान्न सङ्कट नहुने उद्योग वाणिज्य सङ्घले जनाएको छ । सङ्घका सहसचिव महेश खालिङका अनुसार सहजरूपमा खाद्यान्न ढुवानी भएको हुँदा समस्या छैन । केही सामग्रीमा कम्पनीबाट मूल्य वृद्धि भएर आएबाहेकको समस्या तत्कालका लागि नभएको उनको भनाइ छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स