29.1 C
Kathmandu
Saturday, July 27, 2024
spot_img

मोतीपुर घटनामा मृत्यु हुनेको संख्या ४ पुग्यो, अनिश्चितकालीन कर्फ्यू जारि

बुटवल । रुपन्देहीको बुटवल उपमहानगरपालिका–१७ र १८ स्थित मोतीपुर औद्योगिक क्षेत्रमा जग्गा कब्जा गर्ने समूह र प्रहरीबीच झडप हुँदा चार जनाको मृत्यु भएको छ ।

मृत्यु भएकामध्ये तीनको सनाखत हुन नसकेको र एकको सनाखत भएको शिक्षण अस्पताल युसिएमएसका जनसम्पर्क अधिकृत सुशील गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार मृत्यु हुनेमा करिब ४८ वर्षीय कपिलवस्तुको वाणगङ्गा नगरपालिका–४ का रमेश परियार रहेका छन् । उहाँको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो ।

अन्य तीनको अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको गुरुङले बताउनुभयो । मृत्यु भएकाहरु सर्वसाधारण हुन् । अस्पतालमा अन्य पाँच प्रहरी र चार सर्वसाधारणको उपचार भइरहेको छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

प्रहरीले अस्थायी रूपमा बनाइएका टहराहरूसमेत भत्काएको छ । झडपमा परी कैयौँ घाइते भएका छन् । सो औद्योगिक क्षेत्रको नदी उकास क्षेत्रमा गत सातादेखि ठूलो सङ्ख्यामा अस्थायी टहरा बनाएर जग्गा अतिक्रमण भएको थियो तर अतिक्रमित जग्गाबाट स्थानीयवासी हट्न नखोजेपछि प्रहरीले बल प्रयोग गरेको बताइएको छ ।

जग्गामा गत चैतमा औद्योगिक क्षेत्रको शिलान्यास गर्दा स्थानीयवासीले विरोध गरेका थिए । करिब २०० बिघा जग्गा सुकुम्बासीको नाममा कब्जा गर्ने प्रयास भइरहेको थियो । वि.सं २०७२ चैत १ मा रुपन्देहीको मोतिपुरमा पाँच वर्षभित्र औद्योगिक क्षेत्र निर्माण गर्ने घोषणा भएको थियो ।

यस्तै जिल्ला प्रशासन कार्यालय रुपन्देहीले बुटवल क्षेत्रमा कर्फ्यू लगाएको छ । जिल्ला प्रशासन कार्यालयले स्थितीलाई नियन्त्रणमा लिनका लागि भन्दै दिउसो ४ बजे देखि लागु हुने गरी कर्फ्यू जारी गरेको हो ।

अर्को सूचना जारी नभएसम्मका लागि बुटवलको पूर्वमा तिनाउ नदी क्षेत्र (बुटवल १७ शिवनगर देखि १८ सौंरहिया पुलसम्म), पश्चिममा हरिहरपुरको खेतीयोग्य जमिन (बुटवल १७), उत्तरमा शिवनगर रानीगंज बस्ती र दक्षिणमा बुटवल १८ औद्योगिक करिडोरको जमिन क्षेत्रमा कर्फ्यू लगाएको हो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स