29.1 C
Kathmandu
Saturday, July 27, 2024
spot_img

गर्मीले जनजीवन अस्तव्यस्त

भैरहवा । रुपन्देहीमा पछिल्लो एक सातायता गर्मी अत्यधिक बढेको छ । बिहानैदेखि चल्ने तातो हावा सहितको गर्मीले जनजीवन अस्तव्यस्त बनेको छ ।

रुपन्देही लगायतका तराईका जिल्लामा बिहानैदेखि सुरु हुने तातो हावा साँझसम्म लाग्छ । भैरहवामा पछिल्लो एक सातायता ४० देखि ४२ डिग्री तापक्रम कायम रहेको छ । जसले गर्दा बालबालिकादेखि वृद्ध वृद्धालाई समस्या हुन थालेको छ । मंगलबार भैरहवाको तापक्रम ४२।६ डिग्री मापन गरिएको छ ।

तातो हावाहुरी तथा अत्यधिक गर्मीले गर्दा मजदुरी गरेर जीविकोपार्जन गर्नेहरूको दिनचर्या प्रभावित बनेको छ । दिउँसोमा खेतीपाती गर्न सकिने अवस्था छैन भने लामो समयदेखिको खडेरीका कारण किसानहरू मारमा परेको तिलोत्तमा १५ का डोलराज बस्यालको भनाइ छ । गर्मीका कारण सडक सुनसान छन् ।

किसानहरूलाई तरकारी लगायतका अन्नबाली हुर्काउन मुस्किल परेको छ भने सिँचाइको अभावमा किसानले लगायतको तरकारी बालीलाई समेत जोगाउन हम्मेहम्मे परेको छ । लामो समयदेखि खडेरी परेसँगै रुपन्देहीको विभिन्न ठाउँमा आगलागीका घटना समेत बढेका छन् । रुपन्देहीका विभिन्न स्थानमा लागेको आगलागीबाट ८७ घर पूर्ण रूपमा क्षति पुगेको रुपन्देही प्रशासनले जनाएको छ । ८७ घरपरिवारका ५०४ जना घरबारविहीन हुन पुगेका छन् ।

लामो समयदेखि पानी नपरेपछि वायुमण्डल दूषित भई मानिसमा विभिन्न खालका समस्याहरू देखिएर बिरामीहरू अस्पतालमा आउने गरेका छन् । भैरहवास्थित भीम अस्पतालका व्यवस्थापक सुरेन्द्र अधिकारीका अनुसार गर्मी बढेसँगै अस्पतालमा रुघा, खोकी, ज्वरो, झाडा पखाला लगायत विभिन्न समस्या लिएर बिरामीहरू अस्पताल आउने गरेका छन् । अस्पतालहरूमा अहिले बिरामीको अत्यधिक चाप बढेको छ ।

तातो हावा तथा तातो लहरले गर्दा अधिक थकाई लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर लाग्ने, बेहोस हुने जस्ता समस्याहरू देखिएको हुँदा सजक रहन चिकित्सकले आग्रह गरेका छन् ।

बिहान राखिएको हरियो ताजा साग, तरकारी तथा फलफूल साँझ पर्न नपाउँदै सुकेर खान समेत नमिल्ने गरी बिग्रने गरेको व्यवसायीको भनाइ छ । गर्मी बढेसँगै चिसो पेय पदार्थको बिक्री भने बढेको छ । चोक चोकमा राखिएका जुस कर्नर तथा पसलहरूमा भिडभाड लाग्ने गरेको छ । चिकित्सहरु भने अत्यधिक गर्मी र तातो हावा चलेको समय बाहिर ननिस्कन आग्रह गरेका छन् भने झोलिलो पदार्थको प्रयोग गर्न आग्रह गरेका छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स