29.1 C
Kathmandu
Saturday, July 27, 2024
spot_img

राष्ट्रपति पदको लागि रामचन्द्र पौडेल र सुवासचन्द्र नेम्वाङबीच प्रतिस्पर्धा

काठमाडौं । नेपालका तेस्रो राष्ट्रपतिका लागि राजनीति एवं संसदीय अभ्यासमा बौद्धिक र परिपक्व छवि बनाएका प्रजातन्त्रवादी र वामपन्थी फरक विचारधाराका अनुभवी दुई नेताको उम्मेदवारी परेको छ। फागुन २५ गते हुने राष्ट्र प्रमुखको निर्वाचनमा नेपाली कांग्रेसका रामचन्द्र पौडेल र नेकपा (एमाले) का सुवासचन्द्र नेम्वाङको मात्र उम्मेदवारी परेको हो।

फरक राजनीतिक पृष्ठभूमि र सिद्धान्त अँगाले पनि दुवैसँग संसद्को नेतृत्व गरेको अनुभव छ। गत मङ्सिर ४ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेम्वाङ इलाम–२ र पौडेल निर्वाचन क्षेत्र तनहुँ–२ बाट निर्वाचित भएका हुन्।

पौडेलसँग उपप्रधानमन्त्रीसहित शान्ति तथा पुनःनिर्माण, गृह, कृषि, सूचना तथा सञ्चारमन्त्रीलगायतको जिम्मेवारी सम्हालेको अनुभव छ भने नेम्वाङले कानून, न्याय तथा संसदीय, सामान्य प्रशासन मन्त्रालयलगायतमा नेतृत्व गर्ने अवसर प्राप्त गरेका थिए।

मुलुकको राष्ट्राध्यक्षका रूपमा रहने राष्ट्रपति पदको निर्वाचनका लागि यही फागुन २५ गते बिहान १० देखि अपराह्न ३ बजेसम्म मतदानको समय तोकिएको छ। विसं २०७२ असोज ३ गते जारी ‘नेपालको संविधान’मा नेपालमा एक राष्ट्रपति रहने र राष्ट्रपतिले नेपालको राष्ट्रिय एकताको प्रवर्द्धन गर्ने उल्लेख छ। संविधानको पालना र संरक्षण गर्नु राष्ट्रपतिको प्रमुख कर्तव्य हुनेछ।

राष्ट्रपति निर्वाचनको मतदाताको सङ्ख्या सङ्घीय संसद्का ३३२ र सातै प्रदेशका प्रदेशसभा सदस्य ५५० गरी कूल ८८२ कायम छ। सङ्घीय सांसदको मतभार ७९ र प्रदेशसभा सदस्यको मतभार ४८ छ। राष्ट्रपतिको पदावधि निर्वाचित भएको मितिले पाँच वर्ष हुने र दुई पटक राष्ट्रपति निर्वाचित भइसकेको व्यक्ति निर्वाचनमा पुनःउम्मेदवार हुन नसक्ने संविधानमा उल्लेख छ। राष्ट्रपति निर्वाचनका लागि नयाँ बानेश्वरस्थित संसद् भवन परिसरमा सङ्घीय संसद् सदस्य र प्रदेशसभा सदस्यका लागि छुट्टाछुट्टै मतदान केन्द्र हुनेछ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स