26.1 C
Kathmandu
Saturday, July 27, 2024
spot_img

सूर्यदेवको आराधना गरी मनाइँदै छठ

जनकपुरधाम । छठ पर्वको तेस्रो दिन आज साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै छ । यस दिन श्रद्धालुहरू छठ घाटमा पुगी अस्ताउँदो सूर्यलाई अर्घ्य दिने गर्छन् । छठ पर्व चार दिन मनाइन्छ । तेस्रो दिनलाई मुख्य दिन मानिन्छ । सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि यो वर्षको छठ पर्व विधिवत् रूपमा सम्पन्न हुनेछ ।

सिँगारियो पोखरी
छठका लागि जनकपुरधामका गंगा सागर, अरगजा सागर, दशरथ तलाउ, गोरधोइ पोखरी, नोचा पोखरी, रतन सागर, गोसाइकुण्डलगायत दर्जनौँ पोखरीहरू सिँगारिएको छ । पण्डाल र विद्युतीय बत्तीले सजाइएको छ ।

जनकपुरधाममा पछिल्ला केही वर्षदेखि छठघाटमा ठाउँ अभाव हुन थालेको छ । ठाउँ नपाउने चिन्ताले श्रद्धालुहरू एक दिनअगावै छठघाटमा पुग्ने गरेका छन् । गंगा सागर अधिकांश श्रद्धालुको रोजाइमा परेको देखिन्छ ।

तीन करोडको केरा भित्रियो
छठ पर्वका लागि जनकपुरधाममा तीन करोड रुपैयाँ बराबरको केरा भित्रिएको छ । सूर्यदेवलाई अर्घ्य चढाउन तीन करोड मूल्यबराबरको केरा मगाइएको जनकपुर फलफूल तथा तरकारी व्यवसायी समितिका अध्यक्ष विषेश्वर यादवले जानकारी दिए । उनका अनुसार अघिल्लो वर्ष दुई करोड बढीको केरा जनकपुरधाममा भित्र्याइएको थियो ।

यो वर्ष झन्डै ६० ट्रक केरा जनकपुरधाममा ल्याइएको छ । जनकपुरधाममा सबैभन्दा बढी सप्तरी र सुनसरीबाट केरा भित्र्याइएको छ । केही मात्रामा चितवन र भारतबाट पनि केरा मगाइएको जनाइएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स