24.1 C
Kathmandu
Saturday, July 27, 2024
spot_img

राष्ट्रिय बाघ सर्वेक्षण : बाघको सङ्ख्या बढाउन चुनौती

काठमाडौँ । मङ्सिर १९ देखि सुरु हुने राष्ट्रिय बाघ सर्वेक्षणका क्रममा ९०० क्यामेरा र १०० गणक परिचालन हुने भएका छन् । बाघ गणनाको उद्घाटन चितवन राष्ट्रिय निकुञ्जको सौराहामा गरिने भएको छ ।

निकुञ्जले चितवन–पर्सा कम्प्लेक्सको गणनामा क्यामेरा र गणक परिचालन गर्ने भएको छ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यका अनुसार देशभर बाघ पाइने निकुञ्जलाई तीन कम्प्लेक्समा विभाजन गरी बाघ गणना अघि बढाइने जानकारी दिए । पहिलो कम्प्लेक्समा पर्सा राष्ट्रिय निकुञ्ज र चितवन राष्ट्रिय निकुञ्जमा २० दिनमा गणना गरी सक्ने जानकारी दिए । निकुञ्ज र निकुञ्जको मध्यवर्ती क्षेत्रभन्दा बाहिर राष्ट्रिय वन क्षेत्रमा समेत बाघ भेटिएको भन्दै आचार्यले सर्लाहीसम्म बाघ गणना गर्न क्यामेरा ट्यापिङ गरिने बताए ।

बाघ गणनाको समयमा मङ्सिर १९ देखि २० गतेसम्म मध्यवर्ती वन क्षेत्र र क्यामेरा ट्यापिङमा राखिएको राष्ट्रिय वनमा घाँस, दाउरा काट्न लागि नजानसमेत आचार्यले आग्रह गरेका छन् । “बाघ एकदमै लजालु जनावर हो”, आचार्यले भने, “क्यामेरा ट्यापिङको क्रममा मानिसको मुभमेन्ट भयो भने बाघ नदेखिन सक्छ ।”

बाघ गणनाका क्रममा प्रत्येक स्थानमा एक जोडी क्यामेरा राखिँदैछ । एकजोडी क्यामेराको दूरी आठदेखि १६ मिटरसम्म रहने तर दुवै क्यामेराले एउटै बाघको एकैपटक फोटो खिच्ने आचार्यले बताए । “बाघ गणनाको क्रममा निकुञ्जलाई ग्रिड ९बाघको क्षेत्र निर्धारण गर्दै वर्गाकार बनाउने०मा विभाजन गर्नेछौँ”, उनले भने, “एक जोडी क्यामेराबाट अर्को जोडी क्यामेराको दूरी एकदेखि दुई किलोमिटर रहनेछ ।”

जमिनबाट करिब ४५ देखि ६० सेन्टीमिटरको उचाइमा क्यामेरा राखिँदैछ । बाघ हिँड्ने बाटोलाई केन्द्रमा राख्दै गणनाका लागि चारदेखि आठ मिटरको दूरीमा क्यामेरा राखिनेछ । यसपटक बाघको मात्रै गणना हुने भएकाले गणना सकिएर नजिता प्रकाशन भएपछि पुनः अन्य जनावरको गणना गरिने आचार्यले बताए । “अघिल्लो पटक बाघ र अन्य जनावरको एकैपटक गणना गरिएको थियो”, उनले भने, “अहिले जङ्गलमा झाडी भएका कारण अन्य जनावरको गणनामा समस्या हुन भएकाले मार्चपछि मात्रै गणना गर्छौँ ।”

बाघ गणनाका लागि प्रयोग भएका क्यामेरा चोरी हुने तथा नष्ट हुने डर रहेको निकुञ्जले जनाएको छ । यसअघिका गणनामा केही क्यामेरा चोरी भएका तथा केही हात्ती र बाघले नष्ट गरेको पाइएको आचार्यले बताए । “बाघको फोटो खिच्न राखिने क्यामेरा बाघको फोटो खिच्नबाहेक अन्य काममा प्रयोग गर्न सकिँदैन”, उनले भने, “बाघ गणनामा स्वचालित क्यामेरा प्रयोग हुनेछ, त्यसले बाघको मात्रै फोटो खिच्ने गरी निर्माण गरिएको हुन्छ, अन्य कुनै पनि प्रयोजनमा काम लाग्दैन ।”

बाघको सङ्ख्या बढाउन चुनौती

सन् २०१० मा रसियाको सेन्ट पिटरवर्गमा भएको बाघ पाउने १३ मुलुकको सम्मेलनमा नेपालले सन् २०२२ सम्ममा बाघको सङ्ख्या दोब्बर बनाउने प्रतिबद्धता गरेको थियो । पर्सा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत मनोजकुमार साहले सन् २००९ मा नेपालमा १२१ बाघ भएकामा सन् २०२२ सम्म २५० बाघ पु¥याउने प्रतिबद्धता जनाएअनुसार संरक्षणको काम भइरहेको जानकारी दिए । “हरेक पाँच वर्षमा बाघ गणना गरिँदै आएको छ”, उनले भने, “सन् २०१३ मा बाघको सङ्ख्या १९८ पुग्यो, सन् २०१८ को गणनामा बाघको सङ्ख्या २३५ पुगेको छ ।”

अघिल्लो गणनामा बाघको सङ्ख्या २३५ पुगेको भए पनि अबको गणनामा बाघको सङ्ख्या २५० पुग्नेमा चुनौती रहेको साहको भनाइ छ । “कुनै पनि वन्यजन्तुको सङ्ख्या वृद्धि भइरहँदैन”, उनले भने, “निश्चित विन्दुमा पुगेपछि स्थिर वा घट्ने क्रम सुरु हुन्छ, नेपालका संरक्षित क्षेत्रमा समेत बाघको सङ्ख्या वृद्धि गर्नु अब चुनौती बन्दै गएको छ ।” यस पटकको गणनामा १५ बाघ थपिएको अवस्थामा सङ्ख्या दोब्बर पु¥याउने नेपाल पहिलो देश हुने उहाँ बताउनुहुन्छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स