26.1 C
Kathmandu
Saturday, July 27, 2024
spot_img

विपन्नको आयवृद्धि गर्न बाँझो जमिनमा सामूहिक खेती

तनहुँ । तनहुँको एक सहकारीले खेर गएको जमिनमा सामूहिक खेती गरेर विपन्न समुदायको आयवृद्धि गर्न मद्दत पुर्याएको छ । व्यास नगरपालिका–१० दुम्सीस्थित शिसुवा भतेरी कृषि सहकारीले सोही ठाउँको मादी नदीको किनार नजिकैको शिसुवा भतेरीमा रहेको बाँझो जमिनमा सामूहिक खेती गरी आय आर्जनमा सहयोग पुर्याएको हो ।

सहकारीले सामूहिक खेती सुरु गरेपछि आफ्नो जमिन नभएर आलु तथा धान लगाउन अधियाँ गर्न खेत खोज्दै जानुपर्ने बाध्यता हटेको छ । सहकारीले अति सीमान्तकृत बोटे, अल्पसङ्ख्यक दरै, दलित तथा विपन्न व्यक्तिको आयको लागि सामूहिक खेती गर्ने अवसर दिएको छ । विपन्नको आयआर्जनको लागि वडा कार्यालयले १० वर्षका लागि सो सार्वजानिक जग्गा निःशुल्क प्रयोग गर्न दिएपछि चार वर्ष अघिदेखि सामूहिक खेती शुरु गरिएको सहकारीका अध्यक्ष यज्ञप्रसाद शर्माले जानकारी दिनुभयो । आय आर्जनका लागि ७० हजार रुपियाँमा जमिनलाई सम्माएर खेत बनाइएको र २५ हजारको खेतला प्रयोग गरी एक लाख रुपियाँमा सहकारीले चार वर्ष अघि खेती शुरुवात गरेको उहाँले जानकारी दिनुभयो ।

सहकारीले राम्रो कार्य गरेकाले यसै वर्ष सामूहिक खेतीको लागि सहज बनाउन झण्डै १७ लाख रुपियाँ पर्ने ट्याक्टर व्यास नगरपालिकाले सहयोग गरेको अध्यक्ष शर्माले जानकारी दिनुभयो ।

कृषि क्रान्ति गर्नका लागि सामूहिक खेती सञ्चालन गरिएको र क्षेत्रफल विस्तार गर्दै लैजाने सहकारीले जनाएको छ । चरिचरन बन्द गरेर स्थानीय उपभोक्ताले नै प्रयोग गर्नुस् भनेर भेला राखेर सहकारी मार्फत खेती गरिएको वडाध्यक्ष तुलसीराम सापकोटाले जानकारी दिनुभयो । जसको जग्गा छैन उनीहरुलाई प्राथमिकता दिएर समूस्ह बनाएर । ‘‘मेरो जग्गा छैन, मैले काम पाईन, मैलै काम पाइन भन्ने चिन्ता सहकारीले सामूहिक खेती गरेपछि हटेको छ’’ वडाध्यक्ष सापकोटाले भन्नुभयो ।

सहकारीले पराल सोही ठाउँस्थित गौ संरक्षण प्राङ्गारिक मल उत्पादन तथा सरसफाई केन्द्रलाई दिने गरेको छ । केन्द्रले गाईको मलमूत्र सामूहिक खेतीको लागि दिने गरेको छ । ‘‘स्थानीय गाईको मल र मुत्र प्रयोग गरिएकोले खेती राम्रोसँग फष्टाएको र रोग पनि लागेको छैन’’ सहकारीका अध्यक्ष शर्माले भन्नुभयो । निम्न आय भएका कृषकलाई सहकारीमा आवद्ध गराएर आयवृद्धिका लागि गर्नका लागि विभिन्न तरकारी, धान तथा माछापोखरी सहकारीले निर्माण गरेको छ । १२ माछापोखरीबाट गतवर्ष दुई लाखको माछा विक्री गरेको अध्यक्ष शर्माले बताउनुभयो ।

स्थानीय बासिन्दा तथा चण्डीदेवि राष्ट्रिय माध्यमिक विद्यालयका शिक्षक श्रीकृष्ण आचार्यले विपन्न समुदाय सहकारीमा आवद्ध भई सामूहिक खेती, गाईभैंसीको दूध विक्री गर्ने गरेकाले मासिक १५ हजारदेखि ३० हजार सम्म आम्दानी गर्न थालेको जानकारी दिनुभयो । सहकारीमा ३२६ जना आबद्ध छन् । आफ्नो जमिन नहुने विपन्नको लागि भने सामूहिक खेतीमा आवद्ध गराएको छ । हाल १०९ जना सामूहिक खेतीमा आवद्ध भइसकेको सहकारीले जनाएको छ ।

२५ रोपनी सार्वजानिक जग्गा विपन्नको प्रयोग गर्नको लागि दिइएको वडाध्यक्ष सापकोटाले बताउनुभयो । विपन्न मात्रै नभई कृषिमा आधुनिक औजारको प्रयोग गरि लागत घटाउन गाउँका सबैलाई सामूहिक खेतीमा आबद्ध गराइने सहकारीले जनाएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स