24.1 C
Kathmandu
Saturday, July 27, 2024
spot_img

बाढिका कारण कैलालीका १५ सय घरपरिवार विस्थापित

कैलाली । बेमौसमको भारी वर्षासँगै आएको बाढीले कैलालीको पूर्वी क्षेत्रमा करिब १५ सय परिवार विस्थापित भएका छन् । टीकापुर नगरपालिका र जानकी गाउँपालिकामा गरी उक्त संख्यामा परिवारविस्थापित भएका हुन् । टीकापुर नगरपालिकाका विपद् व्यवस्थापन शाखा प्रमुख निर्मला चौधरीले आंशिक रुपमा भत्किएको घर पनि पुननिर्माण नगरी बस्न नसकिने स्थिति रहेको बताइन् ।

उनले नगरपालिकाको टोली बाढीमा गाउँ पस्न नसकेको हुनाले घर क्षतिको विवरण अझै आउन एकीन नहुन नसकेको उनको भनाइ छ । उनले गाउँमा पसेको पानी नघटेसम्म क्षतिको विवरण आउन नसक्ने बताइन् । “बाहिरबाटै घर चार पाँच सय घरमा क्षति भएको देखिएको छ,” उनले भनिन्, “अझै पानी रहेको हुनाले त्यहाँ मानिस पनि छैनन् । हामीले एक हजार भन्दा बढी घर भत्एिको हुन सक्ने अनुमान गर्न सक्छौं ।”

टीकापुर नगरपालिकाका मेयर टपेन्द्र रावलले एक हजार ८३ विद्यालय, एक सय ९८ सडक छेउछाउ र तीन सय १५ आफन्तको आश्रयमा बसेको बताए । उनले दुई हजार दुई सय ५१ परिवार बाढी प्रभावित भएको जनाए ।

टीकापुर नगरपालिका वडा नम्बर ८ का सबैभन्दा बढीलगभग ८ सय परिवार विस्थापित भएका छन् । रातिको समयमा बाढी बस्तीमा पसेकाले स्थानीयले खाद्यान्न लुगाकपडा लगायतका सामान जोगाउन नसकेको वडाध्यक्ष दीर्घ ठकुल्लाले बताए । उनले बाढी विस्तापित परिवारलाई त्रिभुवन मावि, राष्ट्रिय प्रावि, कालिमाटी प्रावि र वनगाउँ, फाँटा, सूर्यपुर लगायतका सुरक्षित स्थानमा राखिएको बताए ।

कर्णाली नदीमा आएको बाढी चिसापानीमा रानी जमरा कुलरिया सिचाई आयोजनाको बाँध र टीकापुर नगरपालिका वडा नम्बर ५ शाहीपुरमा तटबन्ध भत्काएर मंगलबार गाउँ पसेको थियो । सो बाढी टीकापुर नगरपालिका वडा नं। ८ मा रहेको अर्नुवा, सुनारटोल, वनगाउँ, फाँटा, तिमिल्सैन, रामडाँडा, बटनपुरसम्म फैलिएको छ । शाहीपुरबाट छिरेको बाढीले सत्ती नजिकै करिव तीन सय मिटर हुलाकी सडक बगाएर वडा नम्बर ८ का बस्तीमा छिरेको वडा अध्यक्ष ठकुल्लाले बताए ।

टीकापुरको वडा नम्बर ७ का ५० र वडा नम्बर ९ का ६० परिवार विस्थावित भएका छन् । जानकी गाउँपालिकाको वडा नम्बर ९ मा ६०, वडा नम्बर ३ मा ५० र वडा नम्बर ६ मा ६ घरपरिवार विस्थापित भएका छन् । उनीहरुलाई विद्यालयमा राखिएको जानकी गाउँपालिकाका अध्यक्ष प्रदीप चौधरीले बताए ।

टीकापुर नगरपालिका वडा नम्बर ५ मनिकापुरका बाढी विस्थापित शम्भु परियारले घरमा जान नसकिनेस्थिति रहेको र सडकमै पकाएर खानका लागि अन्न नरहेको बताए । उनले राति सुतिरहेको बेला पानी परेको हुनाले लत्ता कपडा, खाने कुरा कुनै पनि नलिएर सडकमा आएको बताए ।

सोमबारदेखि निरन्तर डुबानमा रहेको टीकापुरको वडा नम्बर ५, ७, ८, ९ र जानकी गाउँपालिका वडा नम्बर ९ का बाढी प्रभावितहरुको घरमा रहेको अन्न समेत क्षति भएको छ । वर्षाले अन्य क्षेत्रको खेतको धान नोक्सान भएको बेला बाढी प्रभावित भएको क्षेत्रको घरभित्र रहेको अन्न समेत बाढीमा बगेर, घर भत्किदा थिचिएर र कुहिर क्षति भएको हो । मनिकापुरका भरत साउँदले खेतको धान र घरमा रहेको सबै अन्न नष्ट भएको बताए ।

टीकापुर नगरपालिकाका अनुसार बाढीले खेतमा ढुंगा बालुवा थुपारेको छ भने नगरपालिकाभित्र रहेको हजारौं विघा खेतमा रहेको धान समेत नष्ट भएको छ । कृषि ज्ञान केन्द्र कैलालीले टीकापुर क्षेत्रमा सबै भन्दा बढि धानबालीमा नोक्सान भएको जनाएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स