24.1 C
Kathmandu
Saturday, July 27, 2024
spot_img

पोखरामा च्याङ्ग्राको भाउ बढेसँगै खसीबोकाको माग पनि बढ्यो

कास्की । दशैं सुरु भएपछि पोखराको याम्दी र सिम्पानीमा हिमाली च्याङ्ग्रा आउन सुरु हुन्छ । पोखरा–बाग्लुङ राजमार्गको सिम्पानीबाट हेमजाको विभिन्न स्थानमा च्याङ्ग्राको हुल बिक्रीका लागि राखिएको हुन्छ । च्याङ्ग्रा खरिद–बिक्रीको मेला लाग्दछ ।

व्यवसायीले मुस्ताङ, डोल्पा, रोल्पा, बैतडी, बझाङलगायतका जिल्लाबाट दुई– तीन साता लगाएर हिँडाएर च्याङ्ग्रा बिक्री गर्न पोखरा ल्याइपुर्याउँछन् । बजारमा च्याङ्ग्रा देखिन थालेसँगै सर्वसाधारणमा दशैं आएको छनक आउँछ ।

हिमाली चिसो मौसममा हुर्केका, जडीबुटी खाएकाले च्याङ्ग्राको मासु दशैंमा उपभोक्ताको विशेष रोजाइमा पर्छ । स्वादिलो हुने भएकाले सकभर दशैंमा धेरैको भान्सामा च्याङ्ग्राको मासु पाक्छ । पोखरालगायत यस क्षेत्रमा बढी रुचाइएको च्याङ्ग्राको भाउ भने यस वर्ष आकाशिएको छ । व्यापारीले रोज्जा च्याङ्ग्राको मूल्य रु ५० हजारसम्ममा बिक्री गरेका छन् ।

मासु प्रतिकेजी रु दुई हजारदेखी रु दुई हजार ५०० सम्म मूल्य पर्ने गरेको छ । गत वर्षको तुलनामा २० देखि २५ प्रतिशतसम्म मूल्यवृद्धि भएपछि सामान्य र मध्यम आर्थिक अवस्थाका उपभोक्ताले भने खरिद गर्न सक्ने अवस्था छैन । च्याङ्ग्राको मूल्य आकाशिएपछि उपभोक्ताको रोजाइ अहिले खसीबोकामा छ । अधिकांशले दशैंका लागि गाउँघरमै स्थानीय खसीबोका व्यवस्था गरेका छन् ।

पोखरा–१४ चाउथेस्थित खसीबजारमा एक साताअघिदेखिबाटै ग्राहकको भीड बढेको छ । यस क्षेत्रको मुख्य बजार भएकाले यहाँ धेरै ठाउँबाट ग्राहक आउने गर्दछन् । विगतमा दशैंमा च्याङ्ग्रा खानेहरु यस वर्ष खसीबोकाको व्यवस्था गरेका छन् । पोखरा–११ फूलबारीका नवराज पौडेलले यस वर्ष च्याङ्ग्राको मूल्य छोइसक्नु नभएकाले दशैंका लागि स्थानीय खसीको व्यवस्था गरेको बताए ।

खसीबजारमा भेटिएका उनले भने, ‘विगतका दशैंमा जहिले पनि च्याङ्ग्रा नै किन्ने गरिन्थ्यो तर अहिले भाउ छोइसक्नु छैन । त्यसैले खसीको व्यवस्था गरेको छु । मिल्यो भन्ने फ्रेस हाउसबाट एक–दुई केजी किनेर च्याङ्ग्राको स्वाद लिनुपर्ला, सिङ्गै किन्न सकिएन ।’

पोखरा खसीबजार बजार व्यवसायी समितिका अध्यक्ष ज्ञानबहादुर श्रेष्ठले यस वर्षको दशैंमा खसीको माग बढेको बताए। माग बढेपछि व्यवसायीले थप दुई हजार ५०० खसीबोका बजारमा ल्याउँदै गरेको उनले जानकारी दिए । बजारबाट यस वर्ष छ हजार ५०० को हाराहारीमा खसीबोका बिक्री गरिसकिएको बताइन्छ ।

पोखरा महानगरपालिका पशु सेवा शाखाका प्रमुख नवराज अधिकारीले यस वर्ष गत वर्षको तुलनामा २५ प्रतिशतसम्म च्याङ्ग्राको मूल्य बढेको बताउँछन् । ‘विगतका वर्षलाई हेरेर यस वर्ष व्यवसायीले दशैंमा छ हजार ५०० हाराहारीमा खसीको व्यवस्था गरेका थियौँ,’ उनले भने, ‘फूलपातीको एकरदुई दिनअघि नै सबै बिक्री भएपछि बजार खाली राख्नु भएन भनेर थप दुई हजार ५०० खसी ल्याउँदैछौँ ।’ च्याङ्ग्राको मूल्यवृद्धि भएकाले खसीको माग यस वर्ष अत्यधिक बढेको उनले बताए ।

बजारमा आउनेहरुले च्याङ्ग्राको मूल्य बढेकाले खरिद गर्न नसकेको बताउने गरेको अध्यक्ष श्रेष्ठले जानकारी दिए । कोरोनाका कारण होटल रेष्टुरेन्ट र पार्टी प्यालेस बन्दा हुँदा व्यवसाय नराम्रोसँग प्रभावित भएकामा दशैंमा बजार राम्रो हुँदा खसीबोका व्यवसायी उत्साहित भएका छन् । बजारमा २१ खसीबोका बिक्री गर्ने पसल छन्

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स