26.1 C
Kathmandu
Saturday, July 27, 2024
spot_img

कोरोना संक्रमणदर घटेसँगै खोटाङको भुलभुले दूधकुण्डमा भक्तजनको चहलपहल

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पामा रहेको भुलभुले दूधकुण्डमा भक्तजनको चहलपहल देखिएको छ । जिल्लामा कोरोना संक्रमणदर कम हुँदै गएपछि भक्तजनको चहलपहल बाक्लिएको हो ।

धार्मिक तथा पर्यटकीयस्थलका रुपमा परिचित यस भुलभुले दूधकुण्ड मध्यपहाडी लोकमार्गमा पर्दछ । यो हलेसिपछि जिललाकै उत्कृष्ट धार्मिक तथा पर्यटकीय केन्द्रको रुपमा बिकास हुँदै आएको छ । गणेश,शिवजी बुढानिलकण्ठ भगवानको मुर्ति रहेकाले यहाँ साउनको सोमवार शिवजिको पुजा गर्न शिव भक्त जाने गरेका छन । यस मन्दिरमा विशेषत कार्तिकको धान्यपूर्णीमा ,बालाचतुर्दशी,रामनवमीमा ठूलो मेला लाग्ने गर्दछ । त्यस्तै ऋषितर्पणी पूर्णिमामा पनि धामीझाँक्रीहरू जाने र नुहाउने प्रचलन रहेको छ । भुलभुले दूधकुण्डमा खोटाङलगायत छिमेकी जिल्ला भोजपुर, उदयपुर, ओखलढुङ्गा, सोलुखुम्बु, सङ्खुवासभा, धनकुटा, सिन्धुली तथा भारतका समेत पर्यटक तथा भक्तजनहरु पुजाआजाका लागि आउँने गरेका छन । यस मन्दिरमा पूजा आजा गर्नाले मनोकांक्षा पुरा हुने जनविश्वास रहेको छ ।

यस ठाउँलाइ यलम्बर राजाले राज्य गरेको ठाउँ पनि भनेर चिनिन्छ । यस क्षेत्रका स्थानियहरु होम स्टे सञ्चालन गर्ने तयारिमा रहेका छन । यसो गर्नाले अझै आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न सकिने उनिहरुको भनाइ छ । यस क्षेत्रलाई पहिलेको तुलनामा अहिले निकै सुन्दर र व्यवस्थित बनाइएको छ । उक्त ठाँउलाई पर्यटकीय क्षेत्र बनाउनको लागि दिक्तेल रुपकोट मझुवागढी नगरपालिकाले निकै पहल गरेको छ । यस क्षेत्रको प्रवद्र्धन,पुनव्र्यवस्थापन गर्नका लागि नगरपालिकाले ६० लाख रुपैयाँ लगानी गरेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दिपनारायण रिजालले जानकारि दिनुभयो ।

भुलभुले दूधकुण्डको प्रमुख आकर्षकको केन्द्रबिन्दु भनेको बाह्रै महिना एकनास बगिरहने सङ्लो पानीमा एकैनासका सलबलाइरहने माछा र रुवालुङ झरना हो । यो मन्दिरको प्रवेशमा गेटपार गरेर उकालो निस्केपछि बायाँ साइटमा सात वटा धाराहरूबाट छ्ङ छ्ङ पानी झरिरहेको देख्न सकिन्छ । त्यसै गरि माथी तिर जाँदा त्यहाँ गणेश,शिवजी बुढानिलकण्ठ भगवानका मुर्तिहरू रहेका छन । यहाँ पोखरीको पानीमा एकोहोरो हरियो रङको माछा मुहानतर्फ कुदिरहेको देखिन्छ । एकनासले मुहानतर्फ लाइन लागेर कुदिरहने माछाको रङले पानीको रङ पनि हरियो नै देखिन्छ । यहाँबाट केहि समय उकालो चढेपछि जहिलै सङ्लो र सेतो पानी देखिने रुवालुङ’ झरनाको मनोरम दृष्य देखिन्छ । खोटाङको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारबाट झण्डै १० किलोमिटर उत्तरमा पर्ने भुलभुले दूधकुण्डमा बाहिरि पर्यटकलाई आकर्षित गर्न सके पर्यटन ब्यबसायबाट राम्रो आम्दानी गर्न सकिने देखिन्छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स