29.1 C
Kathmandu
Saturday, July 27, 2024
spot_img

निर्वाचन सामग्रीसहित कर्मचारी मतदानस्थल प्रस्थान

बागलुङ। मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन सम्पन्न गर्नका लागि बागलुङमा कर्मचारी मतदानस्थलतर्फ जान सुरु गरेका छन्। निर्वाचनका लागि आवश्यक सामग्री र बन्दोबस्तीका सामग्री बोकेर कर्मचारी मतदानस्थलमा जान थालेको हुन।

भौगोलिक दूरीका हिसाबले टाढा रहेका अधिकांश मतदानस्थलका कर्मचारीले निर्वाचन सामग्री बुझेको मुख्य निर्वाचन अधिकृतको कार्यालय बागलुङका सहायक निर्वाचन अधिकृत सूर्यबहादुर भण्डारीले जानकारी दिनुभयो। सामग्री बुझेका अधिकांश कर्मचारी तोकिएको मतदानस्थलतर्फ लागेको र केही कर्मचारी बिहीबार साँझसम्म मतदानस्थल पुग्ने छन्।

बागलुङमा निर्वाचनका लागि २३१ जना मतदान अधिकृत, २३५ जना सहायक मतदान अधिकृत, १ हजार १५५ जना सहायक स्तरका कर्मचारी, २३३ जना सहयोगी कर्मचारी र ९२६ जना स्वयंसेवक गरेर दुई हजार ७ सय ९० कर्मचारी परिचालन भएका छन्।

मतदानस्थल पुगेका कर्मचारीले बिहीबार सूचना प्रकाशन गर्ने, मतदानस्थलको तयारी गर्ने सर्वदलीय बैठक राख्ने लगायतका काम थाल्ने भण्डारीले बताउनुभयो। सदरमुकामबाट नजिकै रहेका मतदानस्थल जाने कर्मचारीले भने बिहीबार मात्रै निर्वाचन सामग्री बुझ्ने छन्। निर्वाचनको लागि खटिएका सुरक्षाकर्मी र कर्मचारी मतदानस्थलतर्फ लागेपछि चुनावी रौनक झनै बढेको छ। गाउँ गाउँमा कर्मचारी र सुरक्षाकर्मी पुगेपछि निर्वाचन हुनेमा मतदाता ढुक्क छन्।

निर्वाचनको लागि आवश्यक सबै तयारी पुरा भएकाले मतदानस्थल केन्द्रित तयारी सुरुभएको जिल्ला निर्वाचन अधिकारी यज्ञप्रसाद रिजालले जानकारी दिनुभयो। कर्मचारीसँगै सुरक्षाकर्मीसमेत मतदानस्थल जान सुरु गरेको रिजालले जानकारी दिनुभयो। जिल्लाभर १०६ मतदान केन्द्र र २३१ मतदान स्थल छन्।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स