26.1 C
Kathmandu
Saturday, July 27, 2024
spot_img

काठमाडौँ महानगरमा भौतिक उपस्थितिमा पठनपाठन हुने

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले असोज पहिलो साताबाट आठ कक्षाभन्दा माथिल्लो तहको पठनपाठनलाई भौतिक रूपले सञ्चालन गर्ने भएको छ । ललितपुर महानगरपालिकाले आगामी असोज १ गतेबाट भौतिक रूपमा कक्षा सञ्चालन गर्न विद्यालयलाई नै जिम्मा दिने निर्णय गरेको छ ।

काठमाडौँ महानगरका शिक्षा अधिकृत मोतीप्रसाद भट्टराईले स्वास्थ्य मापदण्डको पालना गर्दै आठदेखि १२ सम्मको कक्षा भौतिक रूपमा सञ्चालन गर्ने बारेमा कुराकानी भइरहेको जानकारी दिनुभयो ।

यस विषयमा असोज ३१ गते महानगरको शिक्षा समितिको बैठकबाट औपचारिक निर्णय गरिनेछ । दशैँअगावै तीन साताका लागि भए पनि माथिल्लो तहको कक्षा भौतिक रूपमा नै पठनपाठन गर्नु उपयुक्त हुने सुझाव विभिन्न क्षेत्रबाट आएको जनाइएको छ । उहाँले आसपासका स्थानीय तहले भौतिक रूपमा विद्यालय सञ्चालन गर्न थालिसकेका कारण महानगरका विद्यालयहरू पनि सोहीअनुसार सञ्चालन गर्नुपर्ने अवस्था रहेको बताउनुभयो ।

कक्षा आठभन्दा तल्लो तहको कक्षा भने तिहारपछि मात्र भौतिक उपस्थितिमा सञ्चालन हुने सम्भावना छ । स्थानीय तहको कोरोना सङ्क्रमणको अवस्था हेरी विद्यालय भौतिक रुपमा सञ्चालन गर्ने या नगर्ने अधिकार स्थानीय तहलाई दिइएको छ । काठमाडौँ जिल्लामा मङ्गलबार २९४ जना कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । सोमबार काठमाडौँमा ३०१ जना प्रभावित भएका थिए ।

ललितपुर महानगरपालिका शिक्षा महाशाखाका अधिकृत शेषकान्त पौडेलले स्वास्थ्य मापदण्ड पालना गरेर विद्यालय सञ्चालन गर्न सकिने बताउँदै अनुगमन समितिले सोको अनुगमन गर्ने निर्णय भएको जानकारी दिनुभयो । यसैबीच विश्व स्वास्थ्य सङ्गठन दक्षिणपूर्वी एसिया क्षेत्रका सदस्य राष्ट्रहरूले कोरोना महामारीमा विद्यालय सञ्चालनलाई सुरक्षित बनाउँदै प्रत्येक विद्यालयलाई स्वास्थ्य प्रवद्र्धन गर्ने विद्यालय बनाउन सङ्कल्प गरेका छन् ।

भदौ २१ देखि २५ गतेसम्म भएको सङ्गठनको दक्षिण पूर्वी एसियाको क्षेत्रीय सम्मेलनको निष्कर्ष सार्वजनिक गर्दै उनीहरूले विद्यालय स्वास्थ्य तथा स्वास्थ्य प्रवद्र्धन गर्ने विद्यालयलाई पुनरुत्थान गर्ने सङ्कल्प प्रस्ताव पारित गरिएको जनाएका हुन् । छलफलमा महामारीका कारण बन्द भएका विद्यालयका कारण कलिला बालबालिका तथा किशोर किशोरीहरूको सिकाइ, वृत्तिविकास तथा स्वास्थ्यमा पारेका प्रभावका बारेमा चासो व्यक्त गरिएको थियो ।

क्षेत्रीय बैठकको क्रममा सदस्य राष्ट्रहरू विश्व स्वास्थ्य सङ्गठनको विश्वव्यापी लक्ष्य तथा दिगो विकास लक्ष्य २०३० अनुरूप भाइरल हेपाटाइटिस, एचआईभी तथा यौनजन्य सङ्क्रमणका विषयमा एकीकृत क्षेत्रीय कार्ययोजना विकास गर्ने कुरामा सहमत भएका छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स