26.1 C
Kathmandu
Saturday, July 27, 2024
spot_img

विद्यार्थीलाई परम्परागत सीप हस्तान्तरण

बेनी । म्याग्दीका युवा, विद्यार्थीहरुलाई परम्परागत सीप हस्तान्तरण गर्न थालिएको छ। मौलिक र परम्परागत सीप हस्तान्तरण, संरक्षण र वातावरणमैत्री चोयाका सामग्रीको प्रयोग बढाउने उद्देश्यले युवा, विद्यार्थीलाई तालिम मार्फत सीप हस्तान्तरण गरिएको हो । धवलागिरी गाउँपालिका–७ शिवाङको हेम र अन्नपूर्ण गाउँपालिका–५ को शिख नमुना आवासीय माविका विद्यार्थीका साथै अन्नपूर्ण–७ घराम्दीका युवा युवतीहरुलाई चोयाका सामान बनाउने तालिम दिइएको छ।

हेम नमुना आवासीय माविका शिक्षक नेत्रलाल सुवेदीले स्वास्थ्य शारीरिक तथा सिर्जनात्मक कला विषय अन्तरगत निगालोबाट चोया र सामान बनाउने सीप सिकाउन ४ दिने तालिम सञ्चालन गरेको जानकारी दिए। कक्षा ७ र ८ का विद्यार्थीको इच्छा अनुसार सीपमुलक व्यवहारिक तालिम दिएका हौं,’ उनले भने, ‘निगालो र बाँसको चोयाबाट डोका, थुन्से, नाङ्लो डाली, थुन्से, भकारी, नाम्लो, नाङ्लो, डाम्लो बनाउन सिकाएका छौं।’

शिक्षक सुवेदीले तालिम दिएका थिए। विद्यार्थीले तयार पारेको निगालोको चोयाबाट बनेका ‘डस्टविन’ विद्यालयको फोहोर व्यवस्थापनमा प्रयोग गरिएको छ ।अन्नपूर्ण–७ को मण्डली सामुदायिक सिकाई केन्द्रका अध्यक्ष सम्झना पौडेलले निगालोबाट चोया र सामान बनाउने सीप सिकाउन ६ जना महिलासहित ३० जनालाई हालै ५ दिने तालिम दिएको बताइन्।

चोयाका सामान बनाउन रघुगंगा गाउँपालिका–७ चिमखोलाबाट अनिल पाईजा घराम्दी पुगेका थिए। चिमखोलाका बासिन्दाहरुमा निगालोबाट आकर्षक डोका बनाउने सीप छ। पाइजाका अनुसार प्रति डोकालाई एक हजारदेखि दुई हजार पाँच सय मूल्य पर्छ।सामाजिक विकास कार्यालय म्याग्दीको आर्थिक सहयोगमा शिख माविको कक्षा ८, ९ र १० का ४० जना विद्यार्थीहरुलाई २ दिने तालिम दिइएको प्रअ केदार कार्कीले बताए।

उनका अनुसार अघिल्लो पुस्ताका नागरिकहरुको मृत्यु, नयाँ पुस्ताका युवा युवतिमा ज्ञान सीप हस्तान्तरण नभएको र पलास्टिकबाट बनेका सामाग्रीको बढ्दो प्रयोगका कारण चोयाबाट बनेका सामग्री र सीप लोप हुने अवस्थामा पुगेको छ। घराम्दीका पुनीसरा पुनले सामान भण्डारण र ढुवानीमा प्रयोग हुने चोयाका सामग्रीहरु वातावरणमैत्री हुने बताइन्। पलास्टिकका सामानका कारण प्रदुषण बढेकाले चोयाबाट बनेका सामग्री प्रयोगमा ल्याउन थालेको उनले बताइन्।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स