24.1 C
Kathmandu
Saturday, July 27, 2024
spot_img

जहाँ ज्यान जोखिममा राखेर विद्यालय जान्छन् विद्यार्थी

मकवानपुर । मकवानपुरको बकैया गाउँपालिका वडा नं। १२ सिमात खोलामा पुल नहुँदा ज्यान जोखिममा राखेर विद्यार्थीहरू परीक्षा दिन जाने गरेका छन् । बकैया स्थित कालाभैरव प्राथमिक विद्यालय धेत्रे दमारमा अध्ययनरत विद्यार्थीहरू वर्खा तथा हिउँदमा ज्यान जोखिममा राखेर सिमात खोला तरेर विद्यालयमा अध्ययन गर्न जाने गरेका हुन् ।

सिमात खोला तर्न बर्खामा विद्यार्थीहरूले समस्या भोग्नु परेको छ । तामाङ समुदायको बाहुल्यता रहेको यस विद्यालयमा हाल २७ जना विद्यार्थीहरू अध्ययनरत रहेका छन । जसमध्ये छात्रा १७ र छात्र १० जना रहेको विद्यालयले जनाएको छ । यहाँ बाल कक्षादेखि कक्षा ३ सम्मको अध्ययन हुने गरेको छ । बकैयाको धेत्रे, चुवार पाखा, गोदाम डाडा, अंजिगरे लगायतका स्थानबाट विद्यार्थीहरू करीब ४५ मिनेट पैदल हिँडेर विद्यालय पुग्ने गरेका छन् ।

धेत्रे र चुवार पाखाका बालबालिकाहरू बकैयाको सिमात खोला तरेर विद्यालयमा अध्ययन गर्न तथा परीक्षा दिन जाने गरेको स्थानीय समाजसेवी रुपेन घलेले जानकारी दिए । भदौ ३० गतेदेखि शुरू भएको त्रैमासिक परीक्षा असोज ५ गतेसम्म संचालन हुनेछ ।

भदौ ३१ गते ठूलो पानी परेका कारण विद्यार्थीहरूले खोला तर्न नसक्दा परीक्षा स्थगित गर्नुपरेको प्रध्यानाध्यापक चेतबहादुर घलेले बताए । विद्यालयले हाल लिइरहेको त्रैमासिक परीक्षामा सहभागी हुन विद्यार्थीहरू आउन नसकेपछि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बिजय सिं घिसिङ, प्रध्यानाध्यापक घले र कार्यालय सहयोगी लगायत मिलेर विद्यार्थीलाई खोला तारेर विद्यालय ल्याएका थिए ।

यहाँका स्थानीय, अभिभावक तथा विद्यालयका प्रअले पनि झोलुङ्गे पुल नहुँदा विद्यार्थी विद्यालय आउन परेको समस्याबारे पालिका तथा वडालाई जानकारी गराएपनि यस स्थानमा झोलुङ्गे पुल निर्माण गर्न सरोकारवाला निकायले चासो नदेखाएको उनीहरूको गुनासो छ । विद्यार्थीलाई दैनिक विद्यालय जान र फर्किने क्रममा सिमात खोला तर्न समस्या हुने गरेको छ । खोला तर्दा कापी, किताव तथा कहिलेकाहीँ पोशाक नै भिज्ने गरेको विद्यार्थीको भनाइ छ ।

२०५३ सालमा स्थापना भएको यस विद्यालयमा राहत दरबन्दी १ जना प्रध्यानाध्यापक र १ जना कार्यालय सहयोगी मात्रै रहेका छन् । बालकक्षा शिक्षिका भने अभाव रहेको विद्यालयले जनाएको छ । विद्यालय भवन समेत जीर्ण अवस्थामा रहेको विद्यालयका प्रअले जानकारी दिए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स