29.1 C
Kathmandu
Saturday, July 27, 2024
spot_img

आजदेखि काँग्रेसको प्रदेश अधिवेशन सुरु

काठमाडौँ । नेपाली काँग्रेसको सातवटै प्रदेशमा अधिवेशन आज उद्घाटन हुँदैछ । काँग्रेसका नेताहरू प्रदेश अधिवेशनका लागि तोकिएका स्थानहरूमा पुगिसकेका छन्। प्रदेश अधिवेशनका लागि बिहीबारबाट निर्वाचन प्रक्रिया सुरु हुँदैछ ।

संघीय संरचनामा गएपछि कांग्रेसले १४ औं महाधिवेशनअन्तर्गत सातै प्रदेशमा आजदेखि पहिलोपटक प्रदेश अधिवेशन गर्न लागेको छ। सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले आज सातै प्रदेशमा एकैपटक भर्चुअल रूपमा प्रदेश अधिवेशन उद्घाटन गर्दैछन्। प्रदेश नम्बर १ को विराटनगरमा, प्रदेश नम्बर २ को जनकपुरधाममा, बागमती प्रदेशको हेटौंडामा, गण्डकी प्रदेशको पोखरामा, लुम्बिनी प्रदेशको बुटवलमा, कर्णाली प्रदेशको सुर्खेतमा र सुदूरपश्चिम प्रदेशको धनगढीमा प्रदेश अधिवेशन हुनेछन्।

प्रदेश अधिवेशन गर्नका लागि कांग्रेस केन्द्रीय समितिबाट सात जना नेतालाई अध्यक्षतासहित संयोजन गर्ने गरी जिम्मेवारी दिइएको छ। प्रदेश नम्बर १ मा पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, प्रदेश नम्बर २ मा रमेश रिजाल, बागमतीमा पूर्वमहामन्त्री प्रकाशमान सिंह, गण्डकी प्रदेशमा गोपालमान श्रेष्ठको नेतृत्वमा आयोजक समिति बनेको छ।

यस्तै लुम्बिनीमा बालकृष्ण खाण, कर्णालीमा जीवनबहादुर शाही र सुदूरपश्चिममा दिलेन्द्रप्रसाद बडु प्रदेश अधिवेशन आयोजक समिति संयोजक रहेका छन्।प्रदेश अधिवेशनमा कांग्रेसका सभापति शेरबहादुर देउवानिकट, वरिष्ठ नेता रामचन्द्र पौडेलनिकट र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलानिकटबीच प्रतिस्पर्धा हुने देखिएको छ।

प्रदेश अधिवेशनमा प्रदेश सभा क्षेत्रीय अधिवेशनका प्रतिनिधि, महाधिवेशन प्रतिनिधि, सम्बन्धित प्रदेशका केन्द्रीय सदस्य र सांसद मतदाता हुन्छन्। कांग्रेसले प्रदेशमा सभापति, दुई उपसभापति, दुई महामन्त्री र एक महिलासहित तीन सहमहामन्त्री रहने गरी व्यवस्था गरेको छ। प्रदेश कार्यसमिति सदस्यहरू पनि प्रदेशमा रहनेछन्। कोषाध्यक्ष भने मनोनित गर्ने व्यवस्था छ।

आज प्रदेश अधिवेशन उद्घाटन गर्ने, मंसिर १७ मा मनोनयन गर्ने र १८ मा चुनाव गर्ने कार्यतालिका बनेको छ। अहिलेसम्म बागमती प्रदेश सभापति पदका उम्मेदवार मात्रै तय भएको छ।

बागमतीमा सभापति देउवा पक्षबाट ईन्द्र बानियाँ, वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबाट जगदीश्वरनरसिंह केसी र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पक्षबाट भीमसेनदास प्रधान प्रदेश सभापति पदका उम्मेदवार छन्।

प्रदेश नम्बर १ मा देउवा पक्षबाट अमृत अर्याल, पौडेल पक्षबाट गुरूराज घिमिरे र राजिब कोइराला, सिटौला पक्षबाट उद्धव थापाको नाम चर्चामा छ। कोइरालाले त उम्मेदवारी नै घोषणा गरिसकेका छन्। उनी केन्द्रीय सदस्य शेखर कोइरालानिकट छन्।

साथै प्रदेश नम्बर २ मा देउवा पक्षबाट कृष्णा यादव, पौडेल पक्षबाट रामकुमार यादव, उपसभापति विमलेन्द्र निधि पक्षबाट प्रदेश नम्बर २ संसदीय दलका नेतासमेत रहेका मन्त्री रामसरोज यादव प्रदेश सभापतिका आकांक्षी छन्। रामसरोजले त उम्मेदवारी नै घोषणा गरिसकेका छन्।

गण्डकीमा देउवा पक्षबाट अर्जुन जोशीले उम्मेदवारी घोषणा गरिसकेका छन्। पौडेल पक्षबाट रघु पौडेल, देवराज चालिसे, यज्ञ थापा र शुक्रराज शर्माको नाम चर्चामा छ।

लुम्बिनी प्रदेशमा सभापति देउवा पक्षबाट प्रतिनिधि सभा सांसद भरत शाह उम्मेदवार बन्ने निश्चित भएको छ। पौडेल पक्षले रोल्पा कांग्रेसका निवर्तमान सभापति अमरसिंह पुनलाई उम्मेदवार बनाउने तयारी गरेको छ।

कर्णाली प्रदेशमा सभापति देउवा पक्षबाट ललितजंग शाही प्रदेश सभापति उठ्ने तयारीमा छन्। पौडेल पक्षबाट तरूण दलका महामन्त्रीसमेत रहेका कालिकोटका भूपेन्द्रजंग शाही उम्मेदवार हुने निश्चितजस्तै छ।

सभापति देउवाको गृहप्रदेश सुदूरपश्चिममा देउवा पक्षबाट नरनारायण शाह, गोविन्द बोहरा, अर्जुन सिंहलगायतको नाम चर्चामा छ। पौडेल पक्षबाट भरत खड्का र कमल शाह प्रदेश सभापतिका आकांक्षी छन्। डडेल्धुरा कांग्रेसका निवर्तमान सभापति कर्ण मल्ल पनि प्रदेश सभापतिका आकांक्षी भए पनि त्यहाँ अधिवेशन विवादित बन्दा उनी प्रतिनिधि नै हुन पाएका थिएनन्।

पौडेल पक्षले सम्बन्धित क्षेत्रका केन्द्रीय सदस्यलाई नै प्रदेशका सभापतिदेखि उम्मेदवार तय गर्ने अधिकार दिएको थियो।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स