24.1 C
Kathmandu
Saturday, July 27, 2024
spot_img

डोटीको कोइरेली गाउँका पहिरो पीडितले अझै पाएनन् राहत

डोटी। कार्तिक महिनाको पहिलो हप्ता आएको अत्याधिक वर्षाका कारण आएको पहिरोले क्षति पुगेको डोटीको दिपायल सिलगढी नगरपालिका–७ कोइरेली गाउँका स्थानीयले अझैँ राहत पाउन सकेका छैनन् । अत्याधिक वर्षाका कारण गाउँकोबीच भागमा पहिरो गएको छ । पहिरोका कारणका अधिकांश घरहरु चर्केका छन्, घरका आँगन भत्किएका छन् । स्थानीयले चर्किएकै घरमा बास बस्नुपरेको छ ।

जिल्लाबाट आएकाहरुबाट फोटो खिच्ने काम बाहेक केही पनि सहयोग नभएको गुनासो गर्नुहुँदै कोइरेली गाउँका स्थानीय रामबहादुर खत्रीले भन्नुभयो –‘आकाशमा बादल लाग्ने बित्तिकै काल नै आयो की भन्ने जस्तो लाग्छ, यस पटकको वर्षामा त बाचौँला भन्ने लागेको थिएन, अझँै पनि केही व्यवस्थापन गरिएन भने वर्षामा गाउँकै पहिरोमा च्यापिएर मरिन्छ की भन्ने पिर छ ।’

विक्रम सम्वत २०४० र २०६६ सालमा आएको अत्याधिक वर्षाका कारण गाउँमा पहिरो गएपछि स्थानीयले बस्ती नै सार्नुपर्ने माग गर्दै आएका छन् । बस्ती स्थानान्तरणको माग गर्दै स्थानीय व्यक्तिहरुले जिल्लादेखि केन्द्रसम्म पुगे पनि बस्ती सार्ने विषयमा कुनै ठोस योजना निर्माण भएको छैन । २०६६ सालमा जिल्लास्थित प्रकोप उद्धार समितिले बस्ती स्थानान्तरण गर्नु पर्ने सिफारिस गरिएको थियो ।

स्थानीय गौरी विष्टले भन्नुभयो, – ‘यसपटकको वर्षामा एक हप्तासम्म बिद्यालयमा गएर बस्नु पर्यो । हामीले अहिले सम्म आश्वासन बाहेक केही पाइएको छैनौँ । गाउँ नै सार्नुपर्छ भन्ने वर्षौंदेखिको हाम्रो मागबारे सम्बोधन होला जस्तो लाग्दैन । न त तत्कालिन राहत पाइयो न कुनै दीर्घकालिन योजनाको बारेमा थाहा भयो ।’

कोईरेली गाउँमा ५६ घरपरिवारहरुको बसोबास रहेको छ । भिरालो जमिनमा बस्ती रहेका कारण वर्षेनी गाउँको माथि र गाउँको मुनीबाट जाने गरेको पहिरोले जमिन भासिँदै गएको छ । बैकल्पिक बसोबासको वयवस्था हुन नसक्दा जोखिम मोलेर गाउँमा बस्नु परेको स्थानीयको दुःखेसो रहेको छ ।

दिपायल सिलगढी नगरपालिकाका जनप्रतिनिधि, राजननीतिक दलका नेता लगायत, सरोकारवालाहरुले जोखिममा रहेको गाउँको स्थलगत अनुगमन गरिएको भए पनि ठोस राहत उपलब्ध हुन सकेको छैन । तत्कालिन राहत भन्दा पनि बस्ती सार्नुपर्ने अवस्था रहेकाले स्थानीयलाई पायक पर्ने उपयुक्त स्थानकोे खोजीमा रहेको दिपायल सिलगढी नगरपालिका प्रमुख मञ्जु मलासीले बताउनुभयो । प्रमुख मलासीले भन्नुभयो,– ‘नगरपालिकाको तर्फबाट जमिन खोज्ने कार्य भइरहेको र प्रदेश र संघीय सरकारसँग समेत आवश्यक सहयोगको लागि आग्रह गरिएको छ ।’

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स