26.1 C
Kathmandu
Saturday, July 27, 2024
spot_img

निर्माण सुरु भएको पाँच वर्ष बित्दासमेत गोदावरी सडकमा खाल्डैखाल्डा

काठमाडौँ । ललितपुरको गोदावरीबाट बिहान निस्केका रमेश सिलवाल दिउँसोसम्म कार्यालय पुग्दा धुलाम्मे हुन्छन् । निर्माणाधीन सो सडक हुँदै पाटन पुग्दासम्म वर्षामा हिलो र हिउँदमा धुलाम्मे हुने उनले बताए । अचेल उहाँ सडकमा हिँड्दा बाहिरबाट बर्षादी लगाएर निस्कनुहुन्छ । उनले भने, “त्यसरी बाहिरको लुगा नफेरे त अफिस पुग्दासम्म मान्छे र लुगा दुबै धुलाम्मे हुन्छ ।”

निर्माण सुरु भएको वषौँ बित्दासमेत हात्तीबन–गोदावरी सडक सम्पन्न भएको छैन । सो सडक सधैँ निर्माणाधीन हुँदा स्थानीयवासीले कष्टकरयात्रा गर्न परिरहेको छ । सडक खाल्डाका कारण हिँडडुल गर्न गाहे भएको स्थानीयवासी बताउछन् । गोदावरी सडकमा भएको खाल्डाखुल्डीका कारण आधा घण्टामा पार गरिने सडकमा हाल एकदेखि डेढघण्टा लाग्ने भएको चालक राम विष्टले बताए ।

झण्डै एक दशकदेखि यही सडकमा बस चलाउँदै आउनुभएका उहाँ सडकको खराब अवस्थाकै कारण जामको समस्याले हैरान हुनुहुन्छ । उनले भने, “बाटो धुलो र हिलोले भरिएर हप्तैपिच्छे नधोइ नहुने भएको छ ।” सो सडकमा भएको धुलोका कारण आफ्ना घरदेखि भान्छा कोठासम्म दैनिक धुलाम्मे हुने गरेको स्थानीयवासी सरिता महर्जनले बताए ।

सडकसँगै भएको उनको घर दिनहुँ धुलोले गर्दा फोहर हुने गर्छ । आफूलाई दिनभर घरमा बसेर सरसफाइ गर्न हैरान हुने र साँझ श्रीमान् र छोराछोरी फर्कदा धुलैधुलो लुगा लिएर फर्कने उनले बताए । उनले भने, “खै हामीले यो धुलोबाट मुक्ति पनि कहिले पाउने होला ?” निर्माण सुरु भएको पाँच वर्ष बित्दासमेत सो सडक अलपत्र छ । निर्माण व्यवसायीले कहिलेकाहीँ उपकरण र जनशक्ति थपेर काम गर्न चाहेको जस्तो देखाए पनि नियमित नहुँदा सम्पन्न नभएको स्थानीयवासीको गुनासो छ ।

स्थानीयवासीले पटक–पटक कहिले सडक विभाग, कहिले गोदावरी नगरपालिका, कहिले आयोजना कार्यालय र कहिले सडक विभागलाई सडक चाँडो सम्पन्न गर्न दबाब दिँदै आएका छन् । सडक निर्माणमा ढिलाइ भएको भन्दै पटक–पटक सडक नै अवरुद्ध गरिए पनि सम्पन्न हुन सकेको छैन । बाँडेगाउँमा सोमबार बिहानैबाट स्थानीयवासीले सडक अवरुद्ध गरेका थिए भने दिउँसोबाट हरिसिद्धि सडक पनि अवरुद्ध भएको थियो ।

सडक विभागका प्रतिनिधि र स्थानीयवासीबीच मङ्सिर महिनाभित्र सडक सम्पन्न गर्ने सहमति भएपछि अहिले सडक चालू छ । निर्माण सुरु भएको लामो समयसम्म पनि कालोपत्र नभएर स्थानीयवासीले धुलो र हिलो खप्नुपरेको भन्दै निर्माण व्यवसायी विरुद्ध सडक अवरुद्ध गरेका हुन । निर्माण व्यवसायीले सो खण्ड यही महिनाभित्रमा कालोपत्र सम्पन्न गर्ने भन्दै आएको थियो ।

कामले गति नलिएपछि जनता आक्रोशित भएको गोदावरी नगरपालिका– १४ का वडाध्यक्ष जगनाथ महर्जनले बताए । उनका अनुसार योबीचमा सडक सुधार पनि नहुँदा अवस्था झनझनै खराब भइरहेको छ । गतवर्ष सडकमा माटो र ग्राभेल विच्छाउदा आवागमनमा झन गाहे भएको थियो । उनले भने, “अब कति दिन धुलो, धुवा र हिलोको सामना गर्नुपर्ने हो भन्ने भएरै विरोधमा कार्यक्रम भइरहेको छ ।”

ललितपुर महानरपालिका र गोदावरी नगरपालिकामा पर्ने सो सडक सङ्घीय सडकका रुपमा रहेको छ । सो सडकमा लामो समयसम्म निर्माणले गति नलिएको भए पनि पछिल्लो दिनमा केही गतिलिन थालेको काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाका प्रमुख दीपेन्द्र पाण्डेले बताए । उनका अनुसार आयोजनाले स्थानीयवासीले लामो समयदेखि दुःख पाइरहेकाले जनशक्ति र उपकरण दुबै थप्न कम्पनीलाई भनेको छ ।

पाँचवर्ष पहिले विस्तार सुरु भएको सो सडकमा सुरुका वर्षमा चौडाइ विवादका कारण निर्माणअघि बढ्न सकेको थिएन । स्थानीयवासीले घर भत्काउन नदिने भन्दै विरोध गरेपछि निर्माण ठप्प थियो । सुरुका दिनमा निर्माण व्यवसायीले काम गर्न चाहे पनि आयोजनाले नै निर्माणस्थल खाली गर्न सकेको थिएन । तीन वर्ष पहिले नै सर्वोच्च अदालतले उपलब्ध चौडाइमा नै निर्माण गर्न फैसला गरेको थियो ।

सोही आधारमा पहिले २० मिटर चौडाइमा कालोपत्र गर्ने गरी ठेक्का सम्झौता भए पनि विभागले उपत्यकाका विस्तारका क्रममा रहेका अरु सडकजस्तै यो सडकमा उपलब्ध चौडाइमा कालोपत्र गर्ने निर्णय गरेको थियो । सो सडक २० मिटर चौडा गर्न नसकिएपछि १६ मिटर चौडाइ कायम गर्ने गरी जनप्रतिनिधि, स्थानीयवासी र आयोजनाबीच सहमति भएको थियो ।

त्यसपछि पनि १६ मिटरभित्रै घर भएका स्थानीयवासीसमेत सडकका लागि जग्गा दिन नमानेपछि सडक अलपत्र बनेको थियो । सो सडकमा गोदावरीको साँढे तीन किमी सडक मात्रै १६ मिटर चौडाइ कायम गर्न सकिने अवस्था छ । बाँकी सडकमा अहिले १६ मिटरभन्दा कम चौडाइ रहेको आयोजनाले जनाएको छ ।

सडकमा कतैकतै पाँच÷साढे पाँच मिटरको चौडाइ छ । चौडाइ कम भएका स्थानमा पैदलयात्रुमार्ग, ह्युमपाइपलगायतका संरचना बनाउन नसकिने विभागले बताउँदै आएको छ । टौखेलदेखि गोदावरी सडक भने गतवर्ष नै निर्माण सम्पन्न भइसकेको छ । विस्तारका क्रममा रहेको सडकमा कर्मनाशा खोलाबाट हरिसिद्धिसम्म ललितपुर महानगरपालिक पर्छ भने साविक ठैब र गोदावरी गाविस गोदावरी नगरपालिकामा पर्छ ।

७ दशमलव ६ किलोमिटर लम्बाइको यो सडक निर्माणको ठेक्का सम्झौता विसं २०७३ असारमा भएको थियो । सडक निर्माणको ठेक्का आयोजनाले आशिष सिएम जेभी र लामा समानान्तर जेभी गरेर दुई कम्पनीलाई दिइएको छ । ठेक्का अवधि सकिए पनि कोभिडका कारण अवरुद्ध अरु आयोजना जस्तै छ महिना थपिएको छ । आयोजनाले भने अवधि बाँकी भए पनि सो सडक त्यस पहिले नै कालोपत्र गर्न निर्माण कम्पनीलाई भनेको छ । प्रमुख पाण्डेले भने, “पहिलो एक तहको कालोपत्र अहिले नै गरेमा स्थानीयवासीलाई हिँड्न सजिलो हुन्छ र त्यसपछि अर्को तहको कालोपत्र गर्न सकिन्छ ।”

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स