24.1 C
Kathmandu
Friday, July 26, 2024
spot_img

दशैँ सकिएलगत्तै अलैँची टिप्न व्यस्त ताप्लेजुङका किसान

ताप्लेजुङ। दशैँ चाड सकिएलगत्तै ताप्लेजुङका किसान अलैँची टिप्न व्यस्त बनेका छन् । अलैँची टिप्ने साथै थन्क्याउने मुख्य मौसम असोज र कात्तिक महिना भएकाले अहिले जिल्लाका किसान अलैँची टिप्नमा व्यस्त बनेका हुन् ।

जिल्लाको मुख्य नगदे बालीको रुपमा रहेको अलैँची तल्लो औल क्षेत्रमा भदौदेखि टिप्न ९सङ्कलन गर्न० शुरु गरिन्छ भने लेकाली क्षेत्रमा मङ्सिरसम्म सङ्कलन गरिन्छ । सङ्कलन गर्ने बेलामा अर्थात अलैँची पाकिसकेपछि टिप्न ढिलो गरेमा चराचुरुङ्गी, मुसा लगायतका वन्यजन्तुले खाइदिने र नष्ट गरिदिने हुँदा दशैँ सकिएसँगै किसान जङ्गल पसेका छन् ।

अलैँची सङ्कलन गर्ने बेला भएपछि थोरै समय ढिलो भएमा पनि वन्यजन्तुले ठूलो नोक्सानी पु¥याइदिने हुँदा किसानहरु दशैँ चाड पूरै विदा गर्न नपाउँदैदेखि अलैँची सङ्कलन गर्ने चटारोमा छन् । दशैँ तिहारको बेला अर्थात यही समय अलैँची सङ्कलन गर्ने मुख्य मौसम भई दिएकाले चाडपर्व चाडपर्व नभनी अलैँची थन्क्याउनमा लाग्नुपरेको किसानको भनाइ छ । चरा, मुसा र काला नाम गरेको जनावर पाकेको अलैँची खानमा झुम्मिने हुँदा चाडपर्व मनाउँदै किसानहरु बगानमा पसेका फुङ्लिङ नगरपालिका–९ हाङ्देवाका स्थानीय लक्ष्मण गुरुङले बताउनुभयो ।

यस्तै, फुङ्लिङ नगरपालिकाकै स्थानीय गायत्री भण्डारीका अनुसार घरमा बसेर चाडपर्व मनाउन थाल्दा जङ्गली जीवजन्तुले धेरै क्षति गर्ने भएपछि चाडपर्व मनाउँदै अलैँची टिप्न र थन्क्याउनमा किसान व्यस्त हुनुपरेको छ । मुख्य मौसममा भनजस्तो मजदुरहरु पनि नपाइने हुँदा अलैँची सङ्कल गर्न र थन्क्याउनमा भ्याई नभ्याई हुने भण्डारीको भनाइ छ ।

उता सिरिजङ्घा गाउँपालिका–७ खेबाङका किसान अग्नि बस्नेतले हाल गाउँका सबै किसान आ–आफ्नो बगानमा पसेर अलैँची सङ्कलन गर्नमा व्यस्त बनेका बताउनुभयो । गतवर्षभन्दा यो वर्ष मूल्य पनि राम्रो आएकाले अहिले अलैँची सङ्कलन गर्न र थन्क्याउनमै किसानले सबै समय खर्चने गरेको बस्नेतको भनाइ छ । दशैँलगत्तै अलैँची सङ्कलन गर्न शुरु गरेका अधिकांस किसानको तिहार पर्व भने जङ्गलमै बित्ने गरेका पनि उहाँले बताउनुभयो ।

हिजोआजदेखि शुरु भएको अलैँची सङ्कलन गर्ने कार्य माथिल्लो लेक क्षेत्रमा थन्क्याई सक्नलाई करिव मङ्सिरको दोस्रो साता सम्म नै लाग्ने किसान बताउँछन् । यता जिल्लाको नौ स्थानीय तहका ६१ वटा वडामध्ये फक्ताङ्लुङ गाउँपालिका–७ ओलाङ्चुङगोलाबाहेक सबै वडामा अलैँची खेती गर्ने गरिन्छ । जिल्लामा करिव चार हजार ३०० हेक्टर क्षेत्रफल बराबरमा अलैँची खेती गरिएको तथ्याङ्क रहेको छ ।

पछिल्लो केही वर्षयता निरन्तर घटेको अलैँचीको मूल्य यस वर्ष भने सन्तोषजनक रहेको किसान तथा व्यवसायीको भनाइ छ । गतवर्ष यो समयमा अलैँची मूल्य प्रतिमन (४० किलोग्राम) २५ हजार रुपियाँ सम्ममा कारोबार भएको भएको थियो ।

यस वर्ष हाल सदरमुकाम फुङ्लिङ बजारमा प्रतिमन ४१ हजार रुपियाँ सम्ममा अलैँचीको कारोबार भइरहेको ताप्लेजुङ उद्योग बाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष दिनेश अधिकारीले जानकारी दिनुभयो । बजारमा अलैँची निस्कन थाल्दा कारोबार भएको मूल्य क्रमशः वृद्धि हुँदै गएको पनि अधिकारीले बताउनुभयो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स