29.1 C
Kathmandu
Saturday, July 27, 2024
spot_img

जब अष्ट्रेलियाको पासपोर्ट फालेर बट्टाई पालनमा होमिए

भरतपुर । भरतपुर–१३ ब्रहमपुरीका इश्वर सुवेदी बट्टाई पालनमा व्यस्त छन् । २६ वर्षीय इश्वरले करिब १० लाख लगानी गरेर बट्टाई चरा, लोकल र फाइटर कुखुरा पालेका छन् । उनी कोभिड–१९ को पहिलो चरणपछि व्यवसायतर्फ मोडिएका हुन् ।

गत वर्ष बट्टाई र अण्डा बेचेर करिब आठ लाख कमाए । लोकल कुखुरामात्रै बेचेर करिब डेढ लाख कमाए । “लकडाउनको फुर्सदले व्यावसायिक बन्न उत्प्रेरित गर्यो,” इश्वर भन्छन्, “बिहान, बेलुका खोरमै व्यस्त बन्छु, दिनभर प्राविधिक काममा रमाउँछु ।”

सानैदेखि पढाइमा अब्बल इश्वरले कम्प्युटर साइन्स एण्ड इन्फर्मेसन टेक्नोलोजी सीएसआईटी अध्ययन पूरा गरेका छन् । न्यूरो भिजन टेक्नोलोजीमार्फत सफ्टवेयर, वेभ डिजाइन, डिजिटल मार्केटिङको काम पनि गर्छन् । उनी फोटोग्राफर पनि हुन् ।

प्राविधिक ज्ञानलाई व्यवहारमा उतार्न सक्रिय इश्वर घरपालुवा चरापालनमा लागेका हुन् । उनले घरमै जोडेर खोर बनाएका छन् । चार सय बट्टाई चरा, पाँच सय लोकल कुखुरा, ५० वटा फाइटर कुखुरा पालेका छन् । “पाँच हजारसम्म बट्टाई चरा पाल्ने लक्ष्य छ,” उनी भन्छन्, “मासु र अण्डाका लागि बट्टाईको माग बढ्दो छ ।”

बट्टाई चराको तौल २५० ग्रामसम्म हुन्छ । ४५ दिनमा हुर्किन्छ । प्रतिगोटा १५० रुपैयाँमा बेच्छन् । फर्मबाट बट्टाई अण्डा प्रतिक्रेट १५० रुपैयाँमा बिक्री हुन्छ । उनले युट्युब हेरेर खोरमा अटोमेटिक ड्रिङकर र अटोमेटिक एग कलेक्सन प्रणाली जोडेका छन् । कुखुराको भन्दा चार गुणा बढी पौष्टिक तत्व बट्टाईको अण्डामा पाइने उनको भनाइ छ ।

वाथ, दम, युरिक एसिडलगायतका बिरामीलाई बट्टाईको मासु फलदायी मानिने उनले बताए । “जाडोयाममा बट्टाईको मासु खपत बढ्छ,” उनले भने, “पौष्टिक तत्व बढी भएकाले बजारीकरणमा समस्या छैन ।” एक महिनामा अण्डा दिन सुरु गर्ने बट्टाईबाट करिब १ वर्षसम्म अण्डा उत्पादन लिन सकिन्छ ।

सुवेदी फर्मबाट इश्वरले छिमेकी जिल्लामा समेत बट्टाईका चल्ला बेच्छन् । अष्ट्रेलिया जान भाषा अध्ययन गरेर बसेका इश्वर आजभोलि आफ्नै फर्ममा व्यस्त छन् । उनलाई आमा, बुबा, भाइले सघाउँछन् । पासपोर्ट त्यागेरै बसेका उनी बट्टाईपालनबाट मनग्य आम्दानी गर्न सफल बनेका छन्

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स